आत्मनिर्भर लघुवित्तको आइपीओ, कहिले दिने आवेदन ?

अर्थबिट २०७९-१०-०६ ०९:०६:०० बजे

काठमाण्डौ।आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । 

कम्पनीले सर्वसाधारण तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि प्राथमिक साधारण शेयर (आइपीओ) निष्कासन तथा बिक्री खुला गर्ने भएको हो । 

जारी पुँजी अन्र्तगत रु छ करोड २३ लाख ३८ हजारको ३२ दशमलव ६२५ प्रतिशत अर्थात् रु दुई करोड तीन लाख ३८ हजार बराबरको साधारण शेयर निष्कासन गर्न लागिएको हो । कम्पनीले प्रतिशेयर रु एक सय दरले दुई लाख तीन हजार तीन सय ८० कित्ता साधारण शेयर खुल्ला गरिने जनाएको छ ।

जसमा २० हजार तीन सय ३८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई, तीन हजार एक सय १७ कित्ता शेयर कर्मचारीलाई र १० हजार एक सय ७० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी एक लाख ६९ हजार सात सय ५५ कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सकिने कम्पनीले जनाएको छ । 

कहिले दिने आवेदन ?

सार्वजनिक आह्वानपत्रानुसार वैदेशिक रोजगारीमा रहेका नेपालीले यही माघ १६ देखि आगामी फागुन १ गतेभित्र आवेदन दिनुपर्ने छ । त्यस्तै सर्वसाधारणले आगामी फागुन ११ गतेदेखि १५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

यो अवधिमा मागबमोजिम आवेदन नपरे ढिलोमा आगामी फागुन २५ सम्म निष्कासन खुला रहने कम्पनीले जनाएको छ । लगानीकर्ताले शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म आवेदन दिन सक्नेछन ।

लगानीकर्ताले आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट तथा अनलाइनमा ‘मेरो शेयर’ मार्फत शेयर खरिदको आवेदन दिन सक्नेछन् । शेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले गरेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस इस्युअर’ रेटिङ्ग प्रदान गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।