व्यवसायी मात्रै हैन बैंकर पनि मर्न थाले, नेपाल बैंकमा कामको अधिक लोडले बीएमको हृदयघातबाट मृत्यु

अर्थबिट २०७९-१०-१२ ०१:४४:०० बजे

काठमाण्डौ।नेपाल बैंक लिमिटेड टंकिसिनवारी शाखामा कार्यरत शाखा प्रबन्धक(बीएम)को गत आइतबार हृदयघातबाट मृत्यु भएको छ । 

नेपाल बैंक लिमिटेडले गत भदौ ३१ मा विस्तार गरेको मोरङ्गस्थित टंकिसिनवारी शाखामा शाखा प्रबन्धकको रुपमा कार्यरत ३५ वर्षीय शेखर न्यौपानेको गत आइतबार हृदयघातबाट मृत्यु भएको हो । न्यौपाने निकट जानकारका अनुसार उनमा कोलेष्ट्रोल पनि देखिएको थियो । बैंकले दिएको टार्गेट र कार्यालयको व्यस्त तालिकाकै कारण विगत केही समयदेखि तनावमा रहेको न्यौपाने निटक एक कर्मचारीले बताए ।“बैंकले अत्याधिक कामको लोड थुपारेपछि आफ्नो स्वास्थ्यको ख्याल गर्न समय हुँदैन । मेशिनजस्तै घोटिएर काम गर्दागर्दै आफ्नो लागि केही गर्न भ्याईँदैन । बैंककै कामको तनावले हामी पनि मर्ने बेला आउँदैछ ।”,नेपाल बैंकमै कार्यरत ती कर्मचारीले गुनासो व्यक्त गरे । 

गत भदौ ३१ देखि न्यौपाने तेह्रथुम आठराईबाट सरुवा भई नेपाल बैंकले विस्तार गरेको टंकीसिनवारी शाखामा शाखा प्रबन्धकको भूमिका निर्वाह गर्दै आएका थिए ।

सरकारले अर्थतन्त्र लयमा आइरहेको जिकिर गरे तापनि व्यापार व्यवसाय चौपट भइरहेको छ । यही साता मात्रै संसद भवन बानेश्वर अगाडि इलामका प्रेम प्रसाद आचार्यले कर्जा तिर्न नसकेर आत्मदाह गरी मृत्युको बाटो रोजे भने हिजो बुधबार बिराटनगरका व्यवसायी मोहनप्रसाद न्यौपाने न्यौपाने आफ्नै घरको बाथरुममा ‘पासो’ लगाएको अवस्थामा फेला परेका हुन् । उनले सुसाइड नोटमा एक करोड ४५ लाख रुपैयाँ बैंकको किस्ता तिर्न नसकेर आत्महत्या गरेको बताएका छन् । 

विश्व अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव नेपालमा पर्न थालिसकेको छ । हाल व्यवसायीहरुलाई मात्रै नभएर बैंकमा कार्यरत शाखा प्रमुखहरुसमेत प्रताडित छन् । उनीहरु बैंकको उच्च व्यवस्थापन र व्यवसायीहरुको बीचमा दुवैतर्फबाट चेपिएर अधिक टर्चरमा रहेको बताइन्छ । कर्जा असुलीको दबाबका लागि आउने गरेको उच्च व्यवस्थापनको टार्गेटले गर्दा बैंकका कतिपय शाखा प्रमुखहरुमा पेशाबाटै पलायन हुने मनस्थिति बन्दै गरेको एक बैंकर बताउँछन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।