मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि, विदेशी मुद्राको सञ्चिति बढ्यो

अर्थबिट २०७९-१०-२३ ०७:०६:०० बजे

काठमाण्डौ।मुलुकबाट बाहिरिनेभन्दा भित्रिने मुद्राको मात्रामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार शोधनान्तर स्थिति रु ९७ अर्ब १० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको थियो ।

समीक्षा अवधिमा चालु खाता रु २९ अर्ब ४७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता रु तीन खर्ब ५२ अर्ब १६ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ९५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २३ करोड ३३ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १९ दशमलव एक प्रतिशतले कमी आई रु चार अर्ब ४३ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी रु ७४ करोड ९४ लाख पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु पाँच अर्ब ४८ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी रु ११ अर्ब ३४ करोड रहेको थियो ।

अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब दुई करोडले घाटामा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ७३ करोड ४४ लाखले बचतमा रहेको छ ।

विदेशी मुद्राको सञ्चिति बढ्यो

केन्द्रीय बैंकको विवरणअनुसार पछिल्लो छ महिनामा विदेशी मुद्राको सञ्चिती बढेको छ । विसं २०७९ असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १० प्रतिशतले वृद्धि भई गत पुस मसान्तमा रु १३ खर्ब ३७ अर्ब २९ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा नौ अर्ब ५४ करोड रहेकोमा गत पुस मसान्तमा आठ प्रतिशतले वृद्धि भई १० अर्ब ३० करोड कायम भएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा गत पुस मसान्तमा १२ प्रतिशतले वृद्धि भई रु ११ खर्ब ८३ अर्ब ३७ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा गत पुस मसान्तमा तीन दशमलव चार प्रतिशतले कमी आई रु एक खर्ब ५३ अर्ब ९१ करोड कायम भएको छ । गत पुस मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव छ  प्रतिशत रहेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।