पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप बढी

अर्थबिट २०७९-१०-२३ ०७:१३:०० बजे

काठमाण्डौ।पहाडी क्षेत्रमा मूल्य वृद्धिको चाप परेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको छ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फिति सात दशमलव ३० प्रतिशत बराबर रहेको छ ।

समीक्षा अवधिमा काठमाण्डौ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा सात दशमलव ४९ प्रतिशत, पहाडमा सात दशमलव ३० प्रतिशत र हिमालमा छ दशमलव ६९ प्रतिशत मुद्रास्फीति रहेको छ । बैंकका अनुसार २०७८ को  पुस महिनामा यी क्षेत्रमा क्रमशः पाँच दशमलव २८ प्रतिशत, छ दशमलव १५ प्रतिशत, पाँच दशमलव ३४ प्रतिशत र पाँच दशमलव २२ प्रतिशत मुद्रास्फीति रहेको थियो ।

गत पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति सात दशमलव २६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति पाँच दशमलव ६५ प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति पाँच दशमलव ६२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति आठ दशमलव ५७ प्रतिशत रहेको छ ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत रेष्टुरेण्ट तथा होटल उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १५ दशमलव ५६ प्रतिशत, सुर्तीजन्य पदार्थको ११ दशमलव ८१ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ७० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको नौ दशमलव ५६ प्रतिशत र मदिराजन्य पेय पदार्थको आठ दशमलव ८४ प्रतिशतले बढेको छ ।

त्यस्तै गैैर–खाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य सूचकाङ्क १६ दशमलव ४३ प्रतिशत, स्वास्थ्यको ११  दशमलव २२ प्रतिशत, मनोरञ्जन तथा संस्कृतिको आठ दशमलव ७६ प्रतिशत, विविध वस्तु तथा सेवाको आठ दशमलव ६८ प्रतिशत र फर्निसिङ््् तथा घरायसी उपकरणहरुको आठ दशमलव ३३ प्रतिशतले मूल्य बढेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।