बैंकको ब्याजदर ‘सिङ्गल डिजिट’हुनुपर्छ : नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकाल

अर्थबिट २०७९-११-२० ०८:००:०० बजे

काठमाण्डौ।नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्ला केही दिनयता बैंकबाट लिएको ऋण नतिर्ने भन्नेजस्तो चर्चा सुनिएको भन्दै यस्तो हल्लाको पछि नलाग्न सबै उद्योगी, व्यवसायीलाई आग्रह गर्नुभएको छ ।

सिद्धार्थ उद्योग वाणिज्य सङ्घको ६४औँ साधरणसभाको शुक्रबार भैरहवामा उद्घाटन गर्दै उहाँले केही समययता बैंकको ऋण नतिर्ने जस्ता विषयमा हल्ला सुरु भएका र यसबाट अराजकता सिर्जना हुने भन्दै त्यस्ता हल्लाको पछि कोही पनि व्यवसायी लाग्न नहुने धारणा राख्नुभयो । 

उहाँले बैंकको ब्याजदर ‘सिङ्गल डिजिट’ हुनुपर्ने पक्षमा आफू रहेको भन्दै यदि त्यसो भएमा धेरै व्यवसायीलाई राहत हुने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी निजी क्षेत्रका तर्फबाट व्यवसायीको हितमा हुनेगरी सधैँ पहल गरिरहेका छौँ । बैंकिङ ब्याजदरको विषयमा पनि सरकारसँग बारम्बार छलफल गरिरहेका छौँ । देशमा व्यावसायिक एवं लगानीमैत्री वातावरण निर्माण गर्ने काममा हामी सदैव लागिपरेका छौँ ।”

वरिष्ठ उपाध्यक्ष ढकालले देशको अर्थतन्त्रको अवस्था हेरेर व्यवसायीहरूले धैर्यधारण गनुपर्ने बेला आएको पनि बताउनुभयो । उहाँले उद्योग व्यवसायमा धैर्य धेरै चाहिने र यसबाट मात्र व्यावसायिक सफलता हात लाग्ने उहाँले सुझाव दिनुभयो ।  

सो अवसरमा उद्योग वाणिज्य सङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्मा, पूर्वअध्यक्ष ओमकार गौचन र सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले मुलुकको अर्थतन्त्र डगमागाएको अवस्था देखिएकाले सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । 

उहाँहरूले सरकारले बजेट व्यक्तव्यमा उल्लेख गरेका उत्पादनमूलक व्यवसायलाई अन्य उद्योगभन्दा कम ब्याजदरमा कर्जा प्रवाह गर्ने व्यवस्थालाई यथाशीघ्र कार्यान्वयन गर्ने व्यवस्था मिलाउन पनि आग्रह गर्नुभयो ।

त्यसैगरी रुपन्देहीका उद्योगी व्यवसायीले नेपालको अर्थतन्त्र जोगाउन तत्काल बजारमा तरलता प्रवाह गर्न आवश्यक रहेको बताउनुभयो । उहाँहरूले बैंक तथा वित्तीय संस्थाको आधार दर नघट्दासम्म ब्याजदर कम नहुने भएकाले अर्थतन्त्र जोगाउनका लागि तत्काल बजारमा तरलता प्रवाह गर्न आवश्यक रहेको बताउनुभएको हो । कृषिमा हुनुपर्ने आधुनिकीकरण र यान्त्रिकीकरणका साथै कृषिमा व्यावसायीकरण हुनु आवश्यक रहेकोमा उहाँहरूको जोड थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।