एनआइबिएल एस क्यापिटलले शेयर लगानीकर्ताहरुको तथ्यांक दूरुपयोग गर्दै, यसरी बाहिरियो घटना

अर्थबिट २०७९-१२-०५ ०१:२४:०० बजे

कठमाण्डौ।मर्चेण्ट बैंकरका रुपमा कार्य गर्दै आइरहेको एनआइबिएल एस क्यापिटलले शेयर लगानीकर्ताहरुको तथ्यांकको दूरुपयोग गरिरहेको रहस्य खुलासा भएको छ ।

मर्चेन्ट बैंकरका रुपमा शेयर रजिष्ट्रारका रुपमा पनि कार्य गर्न धितोपत्र बोर्डबाट अनुमतिपत्र लिएको एनआइबिएल एस क्यापिटलले शेयर लगानीकर्ताहरुको तथ्यांकको दूरुपयोग गरिरहेको रहस्य खुलासा भएको हो । पोर्टफोलियो व्यवस्थापनसमेत गर्दै आइरहेको क्यापिटलले केही दिनअघि एक शेयर ब्रोकरकी श्रीमतीलाई लगानी व्यवस्थापनका लागि फोन सम्पर्क गर्यो । ब्रोकर र उनकी श्रीमती कारमा सँगै सवार भइरहेका बेला क्यापिटलबाट फोन आएको थियो । ब्रोकरले आफ्नी श्रीमतीलाई फोनमा लगातार कुरा गर्न भने । त्यसपछि क्यापिटलबाट आएको फोनले पोर्टफोलियोका स्किमहरु बताइरहयो । अन्त्यमा ती ब्रोकरकी श्रीमतीले आफू शेयर ब्रोकर रहेको बताइसकेपछि एनआइबिएल एस क्यापिटलले हत्तपत्त फोन काट्यो । नाम उल्लेख नगर्ने शर्तमा ती ब्रोकरले अर्थबिटसँग भने,“मेरी श्रीमतीको लगत तथा तथ्यांक एनआइबिएल एस क्यापिटलसँग रहेको छ । क्यापिटलले यसरी शेयरधनीहरुको तथ्यांक दुरुपयोग गर्ने क्रम पछिल्लो समय बढिरहेको छ । हामी पोर्टफोलियो व्यवस्थापन गरिदिन्छौँ भन्ने बहानामा एनआइबिएल एस क्यापिटलले तथ्यांकको दूरुपयोग गरेको हो । कानूनको अभावमा यस्ता गतिविधिमा नियामक निकायले अविलम्ब कार्वाहीको दायरामा ल्याउनुपर्छ ।”

एनआइबिएल एस क्यापिटलले हाल नेप्सेमा सूचीकृत विभिन्न ५३ कम्पनीको शेयर रजिष्ट्रारका रुपमा सेवा दिइरहेको छ । शेयर रजिष्ट्रारका रुपमा कार्य गरिरहेको क्यापिलले अनधिकृत रुपमा क्षेत्राधिकार बाहिर रही सर्वसाधारणलाई पोर्टफोलियो व्यवस्थापन(पिएमएस)का लागि बजार विस्तार गरिरहेको छ । बजार विस्तार गर्न पाइन्छ तर आफू शेयर रजिष्ट्रार भए भन्दैमा विभिन्न कम्पनीको शेयरधनीको लगत निकालेर तथ्यांकको दूरुपयोग भने दण्डनीय छ । नियामक निकायको लचिलोपनाले समेत पछिल्लो समय क्यापिटलहरुले यस्ता गतिविधिलाई बढावा दिइरहेका भेटिन्छन् । 

कुनै पनि संगठित संस्थाको तर्फबाट धितोपत्र कारोबार सम्बन्धी रेकर्ड राखिदिने र दाखिला खारेज वा नामासारी गर्ने र शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्य जिम्मे लिने संस्था नै शेयर रजिष्ट्रार वा रजिष्ट्रार तथा हस्तान्तरण प्रतिनिधि भनिन्छ । शेयर रजिष्ट्रार सम्बन्धी कार्य सूचीकृत कम्पनी स्वयंले गर्न वा बोर्डबाट शेयर रजिष्ट्रेशन कार्य गर्न अनुमतिपत्र लिएका मर्चेन्ट बैंकरले गर्न सक्दछन् । 

यस विषयमा एनआइबिएल एस क्यापिटलका डेपुटी सीइओ मेख थापा र डेपुटी जनरल मेनेजर सचिन्द्र ढुंगानासँग कुराकानी गर्न फोन सम्पर्क गर्दा उठेन ।  

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।