बजारमा उपलब्ध हुने तरलता र ऋणको जोखिम हेरेर बैंकहरूले नै ब्याजदर निर्धारण गर्ने हो : गभर्नर अधिकारी

अर्थबिट २०७९-१२-२९ ०८:५४:०० बजे

काठमाण्डौ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको समयमा नेपालका बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको छ । 

केन्द्रीय बैंकद्वारा मंगलबार चालु आर्थिक वर्षको पहिलो आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उहाँले वित्तीय सूचकमा देखिएका सुधारले समग्र बैंकहरूको अवस्था सुरक्षित रहेको बताउनुभएको हो । 

राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले वित्तीय सूचक सुधारात्मक हुँदै गरेको र यसले बैंक तथा वित्तीय संस्था छोटो समयमा तरलताकै कारण समस्यामा नआउने उहाँको भनाइ छ । उहाँले राष्ट्र बैंकले तरलताका सम्बन्धमा गरेका नीतिगत व्यवस्थाले छोटो समयमा तरलताकै कारण बैंक वित्तीय संस्था समस्यामा नपर्ने बताउनुभयो । “समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ, स्वस्थ छ, सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन । तथ्याङ्कहरु पनि बलिया छन्”, उहाँले भन्नुभयो । 

ब्याजदर बजारले नै निर्धारण गर्ने हो 

कार्यक्रममा गभर्नर अधिकारीले बैंकको ब्याजदर राष्ट्र बैंकले निधारण गर्ने नभई बजारले नै निर्धारण गर्ने बताउनुभयो । तरलताको प्रभाव ब्याजदरमा पर्ने बताउँदै उहाँले वित्तीय बजारमा तरलता सहज हुँदा ब्याजदर घट्ने र तरलतामा चाप भए ब्याजदर बढ्ने तथा राष्ट्र बैंक नियमक मात्रै रहेकाले सोहीअनुसार ब्याजदर घटबढ हुने बताउनुभयो ।  

पछिल्लो समय तरलतालगायत वित्तीय सूचक सहज हुँदै गएकाले बजारमा उपलब्ध हुने तरलता र ऋणको जोखिम हेरेर बैंकहरूले नै ब्याजदर निर्धारण गर्ने उहाँको भनाइ छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।