बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने

अर्थबिट २०८०-०३-२४ ०८:०१:०० बजे

काठमाण्डौ। अर्थमन्त्री डा प्रकाशशरण महतले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताउनुभएको छ ।

पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी सङ्घले  शनिबार आयोजना गरेको कार्यक्रममा उहाँले बढ्दो व्यापारघाटा कम गर्न सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएको बताउनुभएको हो ।

उहाँले सरकारले आन्तरिक उत्पादनलाई बढावा दिने नीति लिएकाले आन्तरिक वस्तुको खपतमा जोड दिन आम उपभोक्तालाई आग्रह गर्नुभयो । कृषि वस्तुको खपत र रोजगारी सिर्जनाको क्षेत्रमा क्याटरिङ व्यवसायीको महत्त्वपूर्ण भूमिका रहेको उहाँको भनाइ थियो ।

अर्थमन्त्री महतले सरकारले कृषिमा मुलुकलाई आत्मनिर्भर बनाउने गरी प्रोत्साहनको नीति लिएको बताउनुभयो । उहाँले कृषि अनुदान दुरुपयोग हुन नदिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा उत्पादनको आधारमा अनुदान दिने व्यवस्था गरेको पनि स्मरण गराउनुभयो ।

अर्थमन्त्री डा महतले बैंक तथा वित्तीय संस्थाले छिट्टै ब्याजदर घटाउने बताउनुभयो । उहाँले चर्को ब्याजदर घटाउनका लागि आफूले नेपाल राष्ट्र बैंकलाई भनेको र आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा सो कुरा सम्बोधन भएर आउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले कोभिडलगायतका समस्याका कारण मारमा परेका उद्योगी, व्यवसायीलाई बैंकको ब्याजदर घट्ने कुराले ठूलो राहत हुने बताउनुभयो । अर्थमन्त्री डा महतले सरकारले मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउन चाहेको र सोहीअनुसारको व्यवस्था बजेटमा नै उल्लेख गरिएको उल्लेख गर्नुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।