नेपाल चिनियाँ लगानी र पर्यटकको मुख्य गन्तव्य बन्न सक्ने

अर्थबिट २०८०-०४-२४ १०:१४:०० बजे

काठमाण्डौ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपालका लागि चिनियाँ राजदूत छन सोङ्बीच  मंगलबार भेटवार्ता भएको छ ।  

उक्त भेटवार्तामा महासङ्घ अध्यक्ष ढकालले नेपाल चिनियाँ लगानी र पर्यटनको मुख्य गन्तव्य बन्न सक्ने र नेपालको उत्पादनमूलक क्षेत्र, ऊर्जा, पर्यटन पूर्वाधारलगायतका क्षेत्रमा विदेशी लगानीको राम्रो सम्भावना रहेकोतर्फ राजदूत सोङ्को ध्यानाकर्षण गराउनुएको महासङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 

पर्यटन प्रवद्र्धनका लागि चीनका मुख्य सहरबाट नेपालका सबै अन्तर्राष्ट्रिय विमानस्थलमा सीधा उडान आवश्यक रहेकोसमेत बताउनुभयो । साथै अध्यक्ष ढकालले चिनियाँ पर्यटकको मुख्य गन्तव्य सूचीमा नेपाललाई प्राथमिकतासाथ समावेश गर्न पनि आग्रह गर्नुभयो ।  

महासङ्घले साना उद्यमशीलता प्रवद्र्धनमा काम गरिरहेको र ती उद्यमीलाई चीनको अवलोकन भ्रमणका लागि राजदूतावासले सहयोग गर्न पनि आग्रह गर्नुभयो । यसैगरी नेपालमा चिनियाँ बैंक आउनसक्ने सम्भावनातर्फ पनि अध्यक्ष ढकालले राजदूतको ध्यानाकर्षण गराउनुभएको सो विज्ञप्तिमा उल्लेख गरिएको छ । 

अध्यक्ष ढकालले लामो समयदेखि बन्द रहेको तातोपानी नाकाको प्रभावकारी सञ्चालनका लागि पहल गर्न पनि चीन सरकारसँग अध्यक्ष ढकालले आग्रह गर्नुभयो । भेटका क्रममा राजदूत सोङ्ले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ता उत्सुक रहेको र नेपालले आवश्यक लगानीको वातावरण बनाउनुपर्ने बताउनुभयो । उत्पादनमूलक उद्योग, कृषि, ऊर्जालगायतका क्षेत्रमा चिनिया लगानीकर्ता आकर्षित रहेको उहाँले बताउनुभयो । 

नेपालमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउनुपर्ने र प्रतिफल सहजै लान सक्ने व्यवस्था पनि गरिनुपर्ने राजदूत सोङ्को भनाइ थियो । लगानीकर्तालाई नीतिगत स्थायित्व एवं सहज व्यवहार आवश्यक रहने भन्दै चीन विदेशी लगानीकै कारण अहिले संसारकै मुख्य उत्पादक बन्न सकेको उदाहरण राजदूत सोङ् प्रस्तुत गर्नुभएको थियो । 

त्यस अवसरमा राजदूत सोङ्ले तातोपानी नाका खोल्ने र नेपालमा चिनियाँ बैंक आउनेबारेमा छलफल भइरहेको जानकारी पनि सो अवसरमा दिनुभएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।