विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य बढ्यो

अर्थबिट २०८०-०९-२५ १०:५०:०० बजे

फिक्कल । बहुमूल्य जडीबुटी चिराइतोको मूल्य बढेपछि इलामका किसान उत्साहित भएका छन् । विगत एक दशकदेखि निरन्तर ओरालो लागेको चिराइतोको मूल्य यस वर्ष बढेपछि किसान उत्साहित भएका हुन् । 

गत वर्ष मुस्किलले प्रतिमनअर्थात् ४० किलो रु २५ हजारमा बिक्री भएको चिराइतो अहिले किसानको घरबाट प्रतिमन रु ५४ हजारसम्ममा बिक्री भइरहेको सन्दकपुर गाउँपालिका–१ का किसान हेमकुमार राईले बताउनुभयो । “विगतका वर्षहरुमा हामीले चिराइतो प्रतिमन रु आठ हजारदेखि २५ हजारसम्ममा बिक्री गर्ने गर्दथ्यौँ, अहिले रु ५४ हजारमा बिक्री भइरहेको छ, यो एक दशकयताकै उच्च मूल्य हो”, उहाँले भन्नुभयो, “यसले व्यावसायिक चिराइतो खेती गदै आएका हामी किसानलाई उत्साहित बनाएको छ ।” 

राईले कुनै समय एकै याममा ५० मनसम्म चिराइतो बिक्री गर्नुहुन्थ्यो । केही वर्षयता मूल्य घटेपछि राईसँगै धेरैले व्यावसायिक चिराइतो खेती छाड्दै गएका थिए । अहिले अप्रत्याशित मूल्य बढेपछि किसान पुनः उत्साहित भएका छन् । “विसं २०६९ मा यहाँका प्रत्येक किसानले १० देखि ५० मनसम्म चिराइतो बिक्री गर्दथे, तर मूल्य घटेपछि धेरै चिराइतो मासेर अन्य खेतीमा लागेका थिए”, सन्दकपुर–३ का किसान शिवकुमार राई भन्नुहुन्छ, “दश रोपनी बारीमा चिराइतो खेती गरिरहेको छु, विगतमा बर्सेनि मूल्य घटेका कारण निराशा थियो, तर यसवर्ष अप्रत्याशित रुपमा मूल्य बढेको छ, यसले म जस्ता किसान धेरै खुसी छौँ ।” 

मूल्य बढेसँगै व्यवसायी चिराइतो सङ्कलन गर्न गाउँगाउँ पुग्न थालेका छन् । चिराइतो खोजी गर्दै गाउँमा व्यापारी आएसँगै व्यावसायिक चिराइतो खेती गर्दै आएका सन्दकपुरका किसाले मनग्य आम्दानी गरिरहेको जडीबुटी व्यवसायी फुर्वा तामाङले बताउनुभयो ।

“गत वर्ष मूल्य नआएका कारण धेरैको चिराइतो बिक्रीसमेत भएको थिएन, तर अहिले व्यापारी किसानको घरमा पुगेर राम्रो मूल्यमा चिराइतो खरिद गरिरहेका छन्”, उहाँले भन्नुभयो, “यो मूल्य स्थिर रहिरहने हो भने यहाँका किसानले अरु काम नै गर्नुपर्दैन ।” चिराइतो पाखा बारीमा बीउ लगाएपछि करिब ३० महिनापछि बिक्रीयोग्य हुने तामाङले बताउनुभयो । अन्य बाली लगाउनुभन्दा यसको आम्दानी तुलानात्मक रुपमा राम्रो हुने उहाँको भनाइ छ । 

पहिले पहिले जङ्गल र खेतबारीमा स्वतः उम्रने चिराइतो पछिल्लो समय किसानले व्यावसायिक रुपमा खेती पनि गर्दै आएका छन् । समुद्र सतहबाट एक हजार पाँच सय मिटरदेखि दुई हजार पाँच सय मिटरसम्मको उचाइमा चिराइतो राम्रोसँग फस्टाउने भएकाले जिल्लाका माथिल्लो भेगका अधिकांश किसाले चिराइतो खेती गरिरहेका छन् ।

इलामको सन्दकपुर गाउँपालिकाका माइपोखरी, सुलुबुङ, माबु, माइमझुवा, जमुना र इङ्ला तथा माइजोगमाई गाउँपालिकाका प्याङ र नयाँबजार एवं इलाम नगरपालिकाको पुवामझुवाको माथिल्लो भेगमा चिराइतोको व्यावसायिक खेती हुने गरेको छ । यहाँ उत्पादित चिराइतो भारत, चीन र बङ्गलादेश निर्यात हुने गरेको व्यवसायी तामाङको भनाइ छ । 

साउनदेखि कात्तिकसम्म फल्ने र असोजदेखि मङ्सिरमा पाक्ने यसको सङ्कलन भने मङ्सिरपछि गरिन्छ । जरासँगै उखेलेपछि एक किलो जतिका ससाना मुठा बनाइने यसलाई हावा आवतजावत गर्न सकिने ठाउँमा भण्डारण गरिन्छ । भूगोल हेरि मङ्सिरदेखि चैतसम्म चिराइतोको सङ्कलन हुन्छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।