अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक

अर्थबिट २०८०-०९-२७ ०७:५८:०० बजे

काठमाण्डौ ।चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा अधिकांश आर्थिक सूचकहरु सकारात्मक देखिएका छन् ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार मङ्सिर मसान्तसम्ममा मूल्यवृद्धि घटेको छ भने विप्रेषण र विदेशी मुद्रा सञ्चिति बढेको छ । शोधनान्तर स्थिति बचतमा देखिएको छ ।

राष्ट्र बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलल ९५ प्रतिशत छ । यस अवधिमा आयात तीन दशमलव चार, निर्यात छ दशमलव एक र कूल वस्तु व्यापार घाटा तीन दशमलव एक प्रतिशतले घटेको छ । विप्रेषण आप्रवाह २७ दशमलव ६ प्रतिशतले वृद्धि भई रु छ खर्ब १३ अर्ब २५ करोड पुगेको छ ।

यस अवधिमा शोधनान्तर स्थिति रु दुई खर्ब १० अर्ब ५९ करोडले बचतमा  छ । त्यस्तै, कूल विदेशी विनिमय सञ्चिति रु १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ । चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १४ दशमलव १ महिनाको वस्तु आयात र ११ दशमलव ८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

पाँच महिनामा नेपाल सरकारको खर्च रु चार खर्ब ५३ अर्ब र राजस्व परिचालन रु तीन अर्ब ६३ अर्ब ४३ करोड छ । यस अवधिमा विस्तृत मुद्राप्रदाय चार दशमलव प्रतिशतले बढेको छ । वार्षिक विन्दुगत आधारमा यस्तो मुद्राप्रदायक १४ दशमलव ४ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन चार दशमलव छ प्रतिशत अर्थात् रु दुई खर्ब ६३ अर्ब ७२ करोडले बढेको छ । यही अवधिमा निजी क्षेत्रमा प्रवाहित कर्जा दुई दशमलव तीन प्रतिशत अर्थात्  रु एक खर्ब १० अर्ब ६ करोडले बढेको छ । 

वार्षिक विन्दुगत आधारमा निक्षेपको वृद्धिदर १५ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर चार दशमलब पाँच प्रतिशत छ ।

पाँच महिनामा रु छ खर्ब १३ अर्ब २५ करोड विप्रेषण भित्रियो

चालु आर्थिक वर्षको पाँच महिनामा रु छ खर्ब १३ अर्ब २५ करोड बराबरको विप्रेषण स्वदेश भित्रिएको छ । 

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको विवरणअनुसार विप्रेषण आप्रवाह २७ दशमलव छ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह २४ दशमलव पाँच प्रतिशतले वृद्धि भई चार अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३ दशमलव एक प्रतिशतले बढेको थियो । 

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या एक लाख ७३ हजार पाँच सय ५५ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख चार हजार ३७ छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः दुई लाख ३६ हजार सात सय ७९ र एक लाख १५ हजार नौ सय ४८ थियो । 

समीक्षा अवधिमा खुद ट्रान्सफर २६ दशमलव तीन प्रतिशतले वृद्धि भई रु छ खर्ब ६९ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २१ दशमलव छ प्रतिशतले बढेको थियो  । 

१७ खर्ब ६७ अर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति

मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ । चालु आवको मङ्सिर मसान्तसम्म कूल रु १७ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति रहेकामा १४ दशमलव आठ प्रतिशतले वृद्धि भई गत मङ्सिर मसान्तमा रु १७ खर्ब ६७ अर्ब चार करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८० असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा गत मङ्सिर मसान्तमा १३ दशमलव छ प्रतिशतले वृद्धि भई १३ अर्ब ३१ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति गत असार मसान्तमा रु १३  खर्ब ४५ अर्ब ७८ करोड रहेकोमा गत मङ्सिर मसान्तमा १५ दशमलब छ प्रतिशतले वृद्धि भई रु १५ खर्ब ५६ अर्ब २५ करोड पुगेका छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा रु एक खर्ब ९३ अर्ब ५९ करोड रहेकोमा गत मङ्सिर मसान्तमा आठ दशमलब नौ प्रतिशतले वृद्घि भई रु दुई खर्ब १० अर्ब ७९ करोड कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार गत मङ्सिर मसान्तको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव छ  प्रतिशत छ । चालु आवको पाँच महिनाको आयातलाई आधार मान्दा बैंङ्किङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४ दशमलब एक महिनाको वस्तु आयात र ११ दशमलव आठ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।