बैंक डुबिसकेको सीएको दाबी, लगानीकर्ता भन्छन्, “बैंक उचाल्दा गह्रौँ तर सम्हाउँदा चिप्लो”

अर्थबिट २०८०-१०-१२ ११:२६:०० बजे

कठमाण्डौ । धितोपत्र बजारमा शेयर भनेकै बैंकको शेयर नै पर्याय बनेको कुनै बेला अहिले भने मणि हराएको नागझैं भएको छ । कुनै बेला बैंकको शेयरमा मरिहत्ते गर्ने लगानीकर्ताहरु हिजोआज भने नाम नै सुन्न चाहँदैनन् शेयर बजारमा । अघिल्लो बुलमा समेत बैंकको शेयरमूल्य नबढी बुल सकिन्न भन्ने लगानीकर्ताहरुलाई खिस्रिक्क नै बनाइदियो र अन्ततः बजार वियरिसमा आइसक्यो ।  

प्राथमिक बजार हुँदै दोस्रो बजार प्रवेश गरेका अधिकांश लगानीकर्ताहरु बैंकका शेयरमा हारालुछ हुन्थयो । बैंकको शेयर खरिद तथा होल्ड गर्दा लगानीकर्ताहरु नाक ठूलो बनाउने पनि कुनै जमाना थियो । कतिपय बैंकले १०० प्रतिशतसम्म लाभांश वितरण गर्दथे ।  हिजोआज भने धितोपत्र बजारमा बैंकको शेयरप्रति नै नाक खुम्चाउन थालिसकेका छन् । घट्दो प्रतिफल तथा अन्य सेक्टरमा लगानीका अवसर छोप्न बैंकका संस्थापकहरुले पछिल्लो समयमा भारी परिमाणमा शेयर बिक्री गर्दै बाहिरिने क्रम जारी छ । संस्थापक शेयरको मूल्य नै प्रतिकित्ता रु.८०–९० आउनु स्वभाविक नै भइसक्यो । यता धितोपत्र बजारमा समेत एकाध बैंकको शेयरमूल्य बाहेक अधिकांशको प्रतिकित्ता रु.२०० मुनि नै फालाफाल पाइन्छन् । 

“नेपालमा बसेर व्यापार तथा व्यवसाय गर्ने वातावरण नभएकाले बिदेश पलायन बढ्दो छ । व्यापारी तथा व्यवसायीहरु स्वेदशमा टिक्ने स्थिति नभएकै कारण व्यवसाय नै बन्द गरेर बिदेशिने क्रम बढिरहेको छ ।”,चार्टड अकाउन्टेन्ट आदित्य चापागार्ईं भन्छन् , “आर्थिक मन्दीका कारण किस्ता तिर्न सक्ने स्थिति नै छैन । ऋणमाथि ऋण थपिएको थपिए नै छ । बैंकहरुको एनपीएल(नन पर्फमिङ्ग लोन) ३० प्रतिशतसम्म पुगेको छ । ”

चापागाईंका अनुसार व्यापार व्यवसायमा बैंकले कर्जा प्रवाह गर्दा प्रोजेक्टका आधारमा भइरहेको छ । अनुमानित कारोबार रकममा कर्जा प्रवाह हुँदा बैंकको किस्ता तिर्न सक्ने अवस्था नरहेको उनको दाबी छ । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणमा ५ प्रतिशत एनपीएल देखाएपनि वास्तविक एनपीएल ३० प्रतिशतसम्म पुगेको छ। कर्जामाथि कर्जा प्रवाह भई कर्जा नवीकरण हुँदा एनपीएल अझै बढ्न सक्ने उनको आङ्कलन छ । 

रेमिट्यान्सले मात्रै हाल बैंक धानिरहेको जिकिर गरेका सीए चापागाईंले बैंक डुबिसकेको तर्क गरे । बैंकको बोर्ड र त्यसअन्तर्गतका विभिन्न कमिटी स्वार्थमा लीन हुँदा खराब कर्जाले भयावह अवस्था ल्याइरहेको उनले बताए । बैंकहरुको सञ्चालक समितिबाट भएको हेल्चेक्र्याईं र नजरअन्दाजले समेत यस क्षेत्रबाट अधिकांश पलायन भइरहेको उनको दाबी छ । “भिजन भएकालाई पाखा लगाउँदै आसेपासेलाई मात्रै बैंकमा अहिले चार्म छ नत्र अरुलाई छँदै छैन ।”,उनले अर्थबिटसँगको कुराकानीमा भने । 

दोस्रो बजारमा सक्रिय लगानी गर्र्र्दै आइरहेक लगानीकर्ता विष्णु सुवेदी भन्छन् , “बैंक उचाल्दा गह्रौँ तर सम्हाउँदा भने चिप्लो भयो । ” बैंकको साइज एकदमै ठूलो हुनु र पूँजीका अधिक भारले समेत बैंकको शेयरमा आकर्षण नभएको उनको तर्क छ । पूँजीभन्दा पनि पूँजीकोष तथा रिजर्भ बलियो बनाउनुपर्नेमा उनले जोड दिए । बैंकको पूँजी बढाउनमै फोकस भएको तर प्रतिफल पनि घट्दै गइरहेकाले समेत शेयर बजारमा रौनकता नछाएको उनले टिप्पणी गरे । बैंकका शेयरमा रिटर्न नदेखेपछि अन्य सेक्टरमा शिफ्ट हुनु स्वभाविक रहेको उनको बुझाइ छ । १–२ वर्षपछि इन्स्योरेन्स सेक्टरमा पनि बैंकको जस्तै अवस्था आउने उनले जिकिर गरे । मर्जर र संस्थापक समूहबाट सर्वसाधारणसमूहको शेयरमा परिणत हुँदासमेत बजारमा बैंकको शेयर आपूर्ति झनै बढेर बजारमा नै चार्म हराएको उनले सुनाए । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।