काठमाण्डौ । नेपाल बैंकर्स संघका कार्यकारिणी समितिका पदाधिकारीहरुले आज नव नियूक्त माननीय अर्थमन्त्री वर्षमान पुनसँग भेटघाट गरी बधाई तथा शुभकामना प्रदान गर्नु भएको छ ।
सो अवसरमा संघका अध्यक्ष सुनिल केसीले बैंकिङ्ग क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा पुर्याएको योगदान बारेमा स्मरण गराउँदै पछिल्लो समय अर्थतन्त्रमा देखा परेका चुनौतीहरुका विषयमा जानकारी गराउनु भयो । संघका पदाधिकारीहरुले पछिल्लो समय वित्तीय क्षेत्रको बारेमा बढ्दै गएको नकारात्मक धारणा, बैंक तथा वित्तीय संस्था लक्षित आक्रमण, राज्यपक्षबाट भएका धरपकडको घटना लगायतको विषयमा अवगत गराउँदै आगामी दिनहरुमा अर्थतन्त्र उकास्न, मुलुकको आर्थिक बृद्धिमा सहयोग गर्न लगातय वित्तीय स्थायीत्व तथा आर्थिक विकासका लागि सरकारलाई सहयोग गर्न बैंकिङ्ग क्षेत्र सदैव तत्पर रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नवनियूक्तअर्थ मन्त्रीले बैंक तथा वित्तीय संस्थाहरुले गरेको योगदानको प्रशंसा गर्दै हाल अर्थतन्त्रमा देखा परेका चुनौतीहरुको सहज समाधानका लागि एकजुट भएर लाग्नु पर्ने बताउँदै आर्थिक विकासको लागि बैंकिङ्ग क्षेत्रको अहम भूमिका रहने बताउनु भयो ।