अब मेरो शेयरमा ‘रियल टाइम’ मै आवेदन प्रमाणीकरण !

अर्थबिट २०८१-०९-१२ ११:४५:०० बजे

काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएससी)को मेरो शेयर पोर्टलमार्फत विभिन्न कम्पनीको शेयर आवेदन गर्दा अब रियल टाइम(तत्काल)मा प्रमाणित हुने भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएससी)को मेरो शेयर पोर्टलमार्फत विभिन्न कम्पनीका आइपीओ,एफपीओ र हकप्रद शेयर आवेदन रियल टाइममा प्रमाणित हुने भएको हो । 

इच्छुक लगानीकर्ताहरुले शेयर आवेदन गर्दा यसअघि बैंक तथा वित्तीय संस्थाहरुले केही घण्टादेखि १ वा २ दिनपछि मात्रै प्रमाणित हुने गरेको थियो । यसअघि म्यानुअल प्रणालीमार्फत आवेदनउपर प्रमाणीकरण गर्नुपर्दा ढिलाई हुने गर्दथ्यो । तर सिडिएससीले हाल बैंक तथा वित्तीय संस्थाहरुलाई एपीआई दिएर इन्ट्रीगेसन गरेकै कारण आवेदन गरेको बढीमा २ मिनेटभित्रै प्रमाणीकरण हुने भएको हो ।

यदि आवेदनकर्ताको बैंक खातामा नगद भएको खण्डमा तुरुन्तै ब्लक हुने र प्रमाणित वा अप्रमाणितको सूचना तत्कालै हुने व्यवस्थाको समेत सुरुवात भएको छ ।

यसैगरी विभिन्न कम्पनीका आइपीओ,एफपीओ र हकप्रद शेयरमा आवेदनबापत बैंक तथा वित्तीय संस्थामा ब्लक भएको रकमसमेत बाँडफाँड सम्पन्न भएलगत्तै  तुरुन्तै फुकुवासमेत हुनेछ । आवेदनकर्ताले शेयर पाएको खण्डमा सोबापतको रकम कट्टा हुने र बाँडफाँडमा शेयर नपरेमा भने रकम फुकुवा हुने भएको छ ।

माथि उल्लिखित सेवाको सुरुवात भने सिटिजन्स बैंकले गरिसकेको सिडिएससीले जानकारी दिएको छ । विस्तारै अन्य बैंकहरुले समेत यो सेवा सुचारु गर्ने बताइएको छ । 

रियलटाइममा प्रमाणित गर्ने व्यवस्थाले के फाइदा होला?

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएससी)को मेरो शेयर पोर्टलमार्फत विभिन्न कम्पनीको शेयर आवेदन गर्दा रियल टाइममा प्रमाणीकरण हुने व्यवस्था सुचारु भएसँगै अब लगानीकर्ताहरुको आइपीओ,एफपीओ र हकप्रद शेयर छुट्ने सम्भावना कम हुनेछ । यसअघि आवेदन दिइसकेपछि केही समय लाग्ने भएकाले बैंक खातामा अपर्याप्त रकम हुँदा अवसरको सदुपयोगबाट बञ्चित हुनु पर्दथ्यो । तथापि यो नयाँ सेवाले लगानीकर्ताहरुलाई सहज हुनुका साथै लगानीको अवसर नगुम्ने  देखिन्छ । यसैबीच बाँडफाँड भई रियल टाइममै रकम फुकुवा हुँदा आवेदन गरेको नगद तत्काल अन्य लगानीको अवसर छोप्नसमेत सकिने आशा राखिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।