काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएससी)ले सञ्चालनमा ल्याएको मेरो शेयर पोर्टल पनि प्रिमियम भर्सनमा छिट्टै आउने भएको छ ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएससी)ले सञ्चालनमा ल्याएको मेरो शेयर पोर्टलमा विभिन्न सेवासुविधाहरु थप गरी प्रिमियम भर्सन ल्याउने आन्तरिक तयारी गरेको हो ।
धितोपत्र केन्द्रीय निक्षेप सेवा(सातौँ संसोधन)विनियमावली,२०८० ले दिएको अधिकार प्रयोग गर्दै सिडिएससीले मेरो शेयरलाई समयसापेक्ष,अत्याधुनिक सेवासुविधा थप गर्दै मेरो शेयरको प्रिमियम भर्सन ल्याउने तयारी गरेको हो । वेब र एपमा प्रयोग गर्न सकिने मेरो शेयरमा प्रयोगकर्ताहरुका लागि आकर्षक,आधुनिक साथै सहजताका लागि प्रिमियम भर्सनमा ल्याउने सिडिएससीको आन्तरिक तयारी रहेको छ ।

हाल मेरो शेयरको वार्षिक नवीकरण शुल्क रु.५० मा थप केही रकम लिई प्रयोगकर्ताहरुले प्रिमियम सेवा लिन सक्ने बताइएको छ । प्रिमियम भर्सनका लागि भने हालको वार्षिक ५० रुपैयाँमा थप अतिरिक्त शुल्क लिइने बुझिएको छ । यद्यपि कति रकम लिने भने विषय भने टुङ्गो नलागिसकेको अवस्था रहेको बताइएको छ ।
मेरो शेयरको प्रिमियम भर्सनमा आईपीओ,एफपीओ,हकप्रद शेयर लगायतका विस्तृत जानकारी प्रयोगकर्तासमक्ष एसएमएसमार्फत जानेछ । उक्त भर्सनमा प्रयोगकर्ताहरुलाई पोर्टफोलियो ट्रयाकिङ्ग हेर्न मिल्ने सुविधा हुनेछ । धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुको आधारभूत तथा प्राविधिक विश्लेषणसहित विस्तृत जानकारी मेरो शेयरको प्रिमियम भर्सनमा उपलब्ध गराइने विषयमा अध्ययन भइरहेको सिडिएससीको भनाइ छ । सो विश्लेषणले लगानीकर्ताहरुले विवेकपूर्ण लगानी गर्न सघाउने पुर्याउने सिडिएससीको अपेक्षा छ ।
मेरो शेयरको प्रिमियम भर्सनमा प्रयोगकर्ताहरुका लागि अन्य के–कस्ता सेवासुविधा दिइने भन्ने विषय बारे बजारसम्बद्ध सरोकारवालासँग समेत छलफल गर्ने सिडिएससीको योजना छ । मेरो शेयरको प्रिमियम भर्सनमा प्रयोगकर्ताहरुले माग गरेबमोजिम सेवासुविधासमेत थप गर्दै लैजाने सिडिएससीको भनाइ छ ।
सिडिएससीको मेरो शेयरको पनि प्रिमियम भर्सनमा के कस्ता सुविधाहरु समावेश गर्नुपर्ला तल कमेन्ट गर्नुहोला ।