छात्राहरुलाई रु एक हजार बचत मौज्दातसहित निःशुल्क बाल बचत खाता

अर्थबिट २०८१-१०-०३ ०६:४८:०० बजे

दमौली ।  यहाँको आँबुखैरेनी गाउँपालिकाले छात्राहरुका लागि बचत खाता खोल्ने भएको छ । गत मङ्सिरदेखि गाउँपालिकाले छात्रा बचत खाता कार्यक्रम सुरु गरेको हो ।

गत मङ्सिर २६ गते कुमारी बैंकसँग सम्झौता गरी गाउँपालिकाका विभिन्न वडाका विद्यालयमा पुगेर छात्राहरुका लागि खाता खोलिने गाउँपालिकाका प्रशासकीय अधिकृत शर्मिला अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार आँबुखैरेनी गाउँपालिका–५ लाब्दीस्थित अरुणोदय प्राथमिक विद्यालयमा माघ ३ गते, सोही वडाको खेउसिङस्थित कामधेनु प्राविमा माघ ४ गते, सोही वडाको सानोभञ्ज्याङस्थित इन्द्रदेव आधारभूत विद्यालयमा माघ ४ गते, आँबुखैरेनी गाउँपालिका–६ प्यूघरफाँटस्थित लक्ष्मी माविमा माघ ४ गते विद्यार्थीको खाता खोलिनेछ ।

खाता खोल्नका लागि विद्यार्थीको जन्मदर्ताको प्रतिलिपि, पासपोर्ट साइजको फोटो, विद्यार्थीको अभिभावकको नागरिकताको प्रतिलिपि, अभिभावकको पासपोर्ट साइजको फोटो आवश्यक पर्ने जनाइएको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार पहिलो पटक छात्रा बचत कार्यक्रम सुरु गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिनुभयो । पालिकाले कक्षा १० सम्म अध्ययनरत छात्राहरुलाई रु एक हजार बचत मौज्दातसहित निःशुल्क बाल बचत खाता खोलिदिने कार्यक्रम छ ।

उहाँले भन्नुभयो, “कक्षा १ देखि १० सम्मका छात्राहरुको बाल बचत खाता खोलेर रु एक हजार जम्मा गरिदिन्छाँै । सानैदेखि बचत गर्नुपर्छ भन्ने भावना विकास गर्न यो कार्यक्रम ल्याइएको हो ।”

छात्राको नाममा खोलिएको सो खातामा कुमारी बैंकले रु २० बजार बराबरको स्वास्थ्य बिमाको सुविधा दिने जनाएको छ । चुमानले भन्नुभयो, “यो कार्यक्रमले बचत गर्ने बानीको विकास गर्ने, विद्यार्थीको शिक्षा तथा स्वास्थ्यमा पहुँच सुनिश्चित गर्ने, विद्यार्थीको रुचि तथा क्षमता अनुसारको उच्च शिक्षाको पहुँचमा सहयोग पुग्नेछ ।”

यसअघि नै गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी, शिक्षकका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरिसकेको छ । गाउँपालिकाले सामुदायिक विद्यालयको शिक्षा रुपान्तरणलाई अभियानकै रुपमा अगाडि बढाएको हो । सामुदायिक विद्यालयको सुधारका निम्ति सुविधासम्पन्न भौतिक पूर्वाधारको व्यवस्थापन, पूर्ण दरबन्दीको शिक्षक नियुक्ती, सिकाइ गुणस्तर अभिवृद्धि लगायतका कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चुमानको भनाइ छ ।

आँबुखैरेनी गाउँपालिकाका छ वटा वडामा ३५ सामुदायिक विद्यालय छन् । ती विद्यालयमा करिब चार हजार बढी विद्यार्थी अध्ययनरत छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।