घट्न थाले ‘मेरो शेयर’ का प्रयोगकर्ता

अर्थबिट २०८१-११-०४ ०४:३४:०० बजे

काठमाण्डौ । विभिन्न ११७ डीपीमार्फत् मेरो शेयरका प्रयोगकर्ता ५६ लाख ४१ हजार ९१२ दर्ता भएको सिडिएस एण्ड क्लियरिङ्ग लि.को तथ्यांकमा छ । तर ३७ लाख ६५ हजार २८३ मात्रैले मेरो शेयर नवीकरण गरेका कारण सक्रिय रहेको सिडिएससीकै तथ्यांकमा भेटिन्छ । 

प्राथमिक बजार वा दोस्रो बजारका लागि सिडिएससीको मेरो शेयर सफ्टवेयर अनिवार्य नै हो । धितोपत्र कारोबारको राफसाफ पछि दोस्रो महत्वपूर्ण सेवा मेरो शेयर रहेको बुझिन्छ । 

कुनै कालखण्डमा मेरो शेयरको सेवामा आवद्ध भएका लगानीकर्ताले हाल उक्त सेवा नवीकरण पनि नगर्ने र प्रयोग पनि नगर्ने हुँदा सक्रिय प्रयोगकर्ताको संख्या घट्न पुगेको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेको बुझाइ छ ।  पछिल्लो समय निरन्तर रुपमा आइपीओ नआएपछि मेरो शेयरको सक्रिय प्रयोगकर्ता घटिरहेको उनी सुनाउँछन् । मेरो शेयरकै लागि बृहत् प्रविधि जडान गरेको उल्लेख गर्दै सिडिएससीकै मुख्य लगानी मेरो शेयरमा भइरहेको प्रवक्ता न्यौपानेले बताए । 

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष धर्मराज सापकोटाका अनुसार आइपीओ भर्ने प्रयोजनका लागि २ वटासम्म मेरो शेयर सेवा लिए तर हाल नचलाएकै कारण सक्रिय प्रयोगकर्ताको तथ्यांक कम रहेको हो । आइपीओमा लगानी गरेपछि ६–७ गुणा प्रतिफल हुने आशामा मेरो शेयरमा दर्ता हुनेहरु बढेको उनी सुनाउँछन् ।  प्राथमिक बजारमा उल्लेख्य सहभागिता भएपनि त्यसको तुलनामा दोस्रो बजारमा कम नै भएका कारण पनि मेरो शेयर सेवामा सक्रियता कम देखिएको उनको भनाइ छ । बढ्न नसकेको मार्केट र विस्तारै सर्वसाधारणको चासो पनि कम हुँदै गएकाले मेरो शेयरमा सक्रियता कम पाइएको उनको ठम्याइ छ । दोस्रो बजारमा पनि माग बढ्न गई सूचक बढ्न थालेपछि मेरो शेयर सुविधाका लागि सम्बद्धता पनि बढ्ने उनले अनुमान गरे । 

आईपीओ भर्ने मात्रै प्रयोजनका लागि मेरो शेयर सेवा लिइँदा नवीकरण हुन नसकेको लगानीकर्ता हिमाल पाण्डेको जिकिर छ । आइपीओ पनि कमै पर्ने र रिटर्न पनि कम नै हुने भएकाले मेरो शेयरमा सक्रियता कम हुँदै गएको उनले बताए । अनुमानित ७० प्रतिशत प्राथमिक बजारका लागि मेरो शेयरको सेवा लिनेहरुले चासो नदिएकै कारण सुरुमा आवद्ध भएपनि अहिले सक्रिय नभएको उनको बुझाइ छ । आईपीओ खुल्ने क्रम नै लगभग ठप्प भएकै कारण मेरो शेयर नवीकरणमा सर्वसाधारणको चासो घटिरहेको उनी बताउँछन् । 

मेरो शेयर रिन्यू नगरी छोड्नेको संख्या धेरै भएको ब्रोकरहरु बताउँछन् । अन्य नयाँ ब्रोकर कम्पनीहरुमा लगानीकर्ताहरु शिफ्ट भएका कारणसमेत मेरो शेयर रिन्यू हुनै छाडेको ब्रोकरहरुको भनाइ छ । 

मेरो शेयर सुविधा लिन प्रयोगकर्ताहरुले ५० रुपैयाँ शुल्क तिर्नुपर्छ । जसमध्ये २५ रुपैयाँ सिडिएससीले नै प्राप्त गर्दछ । 

नेपाल धितोपत्र बोर्डका अनुसार विभिन्न सेक्टरका ५१ अर्ब रुपैयाँभन्दा बढीको आईपीओ पाइपलाइनमा रहेका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।