माइक्रोफाइनान्समा जुवा खेल्दै लगानीकर्ता !

अर्थबिट २०८१-११-११ १०:५७:०० बजे

काठमाण्डौ । समय यस्तो पनि थियो जहाँ शेयर कारोबारीहरु ‘अल्ट्रा लो क्याप’ र ‘लो क्याप’ स्टकहरु धुईंधुईंती खोजेर लगानी गर्थे । लाभांशभन्दा पनि पूँजीगत लाभ कमाउने मुख्य उद्देश्य उनीहरुको हुने गर्दथ्यो ।

समय बदलिएको छ । केही दिनयता शेयर बजारमा रु ‘अल्ट्रा लो क्याप’ र ‘लो क्याप’ स्टकहरु बिक्री गर्दै ‘हाई क्याप ’ स्टकमा लगानी गर्नेहरु ओइरिन थालेको छन् । माग र आपूर्तिमै आधारित शेयर बजारमा  ‘अल्ट्रा लो क्याप’ र ‘लो क्याप’ स्टकहरुको मूल्य आकासिने क्रममा ब्रेक लागेको छ । 

साताको पहिलो दिन आज आइतबार सबैभन्दा धेरै गुमाउने कम्पनीमा उपकार लघुवित्त वित्तीय संस्था परेको छ । जसको मूल्य एकैदिन ३६३ रुपैयाँले घटेको छ भने यसअघि प्रतिकित्ता ६ हजार ६०० बाट घटेर अहिले ४ हजार ९८६ रुपैयाँ कायम हुन पुगेको छ । यसको मतलब कम्पनीको मूल्य उच्च विन्दूबाट १६ सय १४ रुपैयाँ घटी हो । 

उपकार लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा ३ लाख ७१ हजार ५१८ कित्ता मात्रै कारोबारयोग्य छन् । ‘अल्ट्रा लो क्याप’ भएकै कारण केही सीमित व्यक्तिले जुवा खेलेजस्तै बजारबाट सोहोर्ने अनि आफू अनुकुल बजारमूल्य कायम गराउने गर्दछन् । सोझासीधा लगानीकर्ताहरु भने ‘अल्ट्रा लो क्याप’ स्टकको मूल्य अझै माथि जाने लोभमा तिनै सीमित व्यक्तिको जालोमा फस्दछन् । 

बजारको उत्तारचढावसँगै मूल्यसमेत तलमाथि हुने हुँदा महँगो मूल्यमा सर्वसाधारण लगानीकर्ताहरु लोभले लाभ लाभले विलाप गर्न पुग्दछन् । २–३ सातामै मूल्य तलमाथि हुँदा सर्वसाधारणले प्रतिकित्ता नै ठूलो रकम गुमाउनु पर्ने हुन्छ । अनि महँगो मूल्यमा खरिद गरेका लगानीकर्ताहरु लोभको शिकार भइसकेका हुन्छन् । 

केही वर्ष अघि पनि जीवन विकास लघुवित्त, महिला लघुवित्त लगायतका स्टकहरु ‘अल्ट्रा लो क्याप’ का रुपमा चिनिन्थे । जसको मूल्य ५ हजार माथिसमेत पुग्यो तर कालान्तरमा १ हजार आसपासमा आएर लामो समय बस्यो । जीवन विकास लघुवित्त, महिला लघुवित्तको हाल क्रमशः १४ सय र २४ सय रुपैयाँ आसपास किनबेच भइरहेको छ । उसो त त्यो बेला जीवन विकास लघुवित्त, महिला लघुवित्तको ५० देखि ७० प्रतिशत बोनस शेयरकै लोभमा प्रतिकित्ता ५ हजारमाथि लगानीकर्ताहरुले जुवा खेलेका थिए । 

नेपाल राष्ट्र बैंकले हाल लाभांशमा समेत क्याप लगाएको छ । जसअनुसार केहीले सर्वाधिक १५ प्रतिशत लाभांशसम्म वितरण गरिरहेका छन् । कतिपय लघुवित्तबाट लगानीकर्ताले लाभांश १५ प्रतिशत पाउने भएकाले अहिले बजारमा १ हजारदेखि २ हजारसम्मका स्टकहरुमा व्यापक आकर्षण रहेको छ । यसैकारणसमेत उच्च मूल्यमा फसिने डरले लो क्याप स्टकहरुको मूल्य ओरालो लागेको हो । 

उसो त धेरै लघुवित्तले लगानीकर्ताको हात खाली गर्दै लाभांश वितरण नगर्ने भएका छन् । कतिपयको वित्तीय सूचकसमेत अत्यन्तै दयनीय रहेको पाइएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।