काठमाण्डौ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले समाज लघुवित्त वित्तीय संस्थालाई गाभ्ने,गाभिने तथा प्राप्ति गर्ने प्रारम्भिक सम्झौता गरेसँगै दोस्रो बजारमा समेत यसको प्रभाव परेको छ ।
दुई लघुवित्तबीच गत शनिबार भएको प्रारम्भिक सम्झौताका कारण ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको मूल्य उँभो लागि रहेको छ । तर कर्नरिङ्ग गरी उच्च मूल्य पुर्याइएको समाज लघुवित्तको मूल्य भने उँधो लागिरहेको छ ।
बजारमा समाज लघुवित्तको शेयर होल्ड गरेका लगानीकर्ताहरुको भने बेहाल र रोइलो मच्चिरहेको छ । तर उता ग्रामीण लघुवित्तको शेयरको मूल्य भने उकालो लाग्दै गइरहेको छ । तुलनात्मक रुपमा समाजभन्दा ग्रामीण लघुवित्तको वित्तीय सूचक निकै नै कन्भिन्सिङ्ग छन् । बलिया वित्तीय सूचक भएकै कारण यसको मूल्य थप उकालो लाग्ने विश्लेषण भइरहेको छ । कम्पनीको इपीएस ३७.६४ र नेटवर्थ प्रतिशेयर रु.२७६.१८ रहेको छ ।
धितोपत्र बजारमा हिजो आइतबार ग्रामीण विकास लघुवित्तको मूल्य एकैदिन ५८ रुपैयाँले बढ्यो । तर अल्ट्रा लो क्यापकै लहैलहैमा ३५ सयको शेयर एकैदिन ३५४ रुपैयाँले घटेर ३१ सय ८५ आइपुग्यो ।
आखिर भएको के हो ?
ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाका सीइओ श्याम कुमार कटवालका अनुसार ग्रामीणले समाज लघुवित्तलाई प्राप्ति गरेको जानकारी दिए । हाल एमओयु मात्रै गरिएको बताउँदै उनले प्राप्तिका लागि राष्ट्र बैंकको स्वीकृति पर्खिएको अर्थबिटसँग बताए । ‘हामीले समाज लघुवित्तलाई प्राप्तिका लागि एमओयु गरेका हौँ ।’उनले अर्थबिटसँग भने,‘ राष्ट्र बैंकको स्वीकृति भएपछि डीडीए गर्ने अनि स्वाप रेसियो कायम हुनेछ । ’ राष्ट्र बैंकले करिब २ साताभित्र स्वीकृति दिने दाबीसमेत गरे ।