ऊर्जा व्यापारका लागि सहज वातावरण बनाउन भारत सकारात्मक

RSS २०७८-११-१२ ०२:३४:०० बजे

काठमाण्डौ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग भारत सरकारका ऊर्जा सचिव आलोककुमार सहितको प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।

सो अवसरमा उहाँहरुबीच समग्र ऊर्जाको विकास, व्यापार र आपसी हितका विविध विषयमा छलफल भएको छ । नेपालसँग भएको जलविद्युत् आपसी सहकार्यबाट प्रयोगमा ल्याएर आपसी आवश्यकता परिपूर्ति गरेर आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्नुपर्नेमा जोड दिँदै मन्त्री भुसालले उत्पादन तथा व्यापारमा सहज सहकार्य आवश्यकता औंल्याउनुभयो । 

उहाँले भन्नुभयो,“हामीसँग भएको ऊर्जा स्रोतको प्रयोग आपसी सहकार्यबाट दुवै देशको विकासका लागि प्रयोग गर्नुपर्छ । त्यसका लागि द्विपक्षीय सहकार्य आवश्यक छ ।”

ऊर्जा सहकार्यबारे थप प्रष्ट पार्दै मन्त्री भुसालले भन्नुभयो, “पहिलो हामीबीच ऊर्जाको व्यापार सहज हुनुपर्छ ।

यहाँबाट दुवै देशको विकासका लागि मद्दत पुग्छ र दोस्रो तेस्रो मुलुकमा ऊर्जा व्यापारका लागि सहज अवस्था सिर्जना गर्नुपर्छ । यस अर्थमा सचिवस्तरीय बैठक फलदायी हुने मैले विश्वास लिएको छु ।” भारतीय ऊर्जा बजारमा नेपाले उत्पादन गरेको ऊर्जा व्यापारको वातावरण सहज तुल्याइदिन आग्रह गर्दै मन्त्री भुसालले असल मित्रराष्ट्रले आफ्नो छिमेकीमुलुकको समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा भारतीय ऊर्जा सचिव कुमारले ऊर्जा व्यापारले आपसी सम्बन्धलाई थप बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । ऊर्जा व्यापारका लागि सहज वातावरण बनाउन आफूहरु सकारात्मक रहेको जनाउँदै उहाँले भन्नुभयो,“भारत, बङ्गलादेशसँग व्यापार अनुमति दिनका लागि हामी सकारात्मक छौँ ।” 

काठमाडौँमा जारी बैठकले सफल नतिजा दिने आशा व्यक्त गर्दै उहाँले भन्नुभयो, “मलाई आशा छ, यो बैठकमा हामी सफल हुनेछौँ ।” सचिव ओलकले अरुण तेस्रो तीव्र गतिमा अगाडि बढेको जनाउँदै भन्नुभयो, “मैले यो आयोजना चाँडो सम्पन्न गर्न भनेको छु यसले आपसी मित्रता थप प्रगाढ बनाउनेछ ।” 

बैठकमा ऊर्जा सचिव देवेन्द्र कार्की, सहसचिव बाबुराम भण्डारी, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितका अधिकारको सहभागिता थियो भने भारतका तर्फबाट सचिवस्तरीय बैठकमा सहभागी हुन नेपाल आएका भारतका अधिकारी एवं नेपालस्थित भारतीय राजदूतावासका उच्चअधिकारीको सहभागिता थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।