जलविद्युत्को प्रयोग बढाउन मन्त्री भुसालको आग्रह

RSS २०७८-१२-०२ ०९:१४:०० बजे

काठमाण्डौ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले डिजेल, पेट्रोल, खाना पकाउने एलपी ग्यासजस्ता जैविक इन्धनको प्रयोगलाई कम गर्दै आफ्नै देशमा उत्पादन भएको जलविद्युत्को प्रयोगलाई बढाउन सबैमा आग्रह गर्नुभएको छ । 

मधेश प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय र मधेशी शहीद प्रतिष्ठानले आज वीरगञ्जमा आयोजना गरेको  शहीद परिवारको सम्मान तथा चेक हस्तान्तरण कार्यक्रममा मन्त्री भुसालले जैविक इन्धनको प्रयोगले पर्यावरणलाई ठूलो नोक्सानी भएको उल्लेख गर्नुभयो । नेपालको ठूलो धनराशि इन्धनको आयातमा खर्च हुने गरेकाले आफ्नै देशमा उत्पादन भएको बिजुलीको उपयोग गर्न उहाँले आग्रह गर्नुभयो । 

“भान्सा होस वा बाहन होस, सिँचाइका लागि होस वा उद्योगका लागि । इन्धनको सट्टा बिजुलीको उपयोग बढाउनु पर्छ”, उहाँले भन्नुभयो । शहीद परिवारलाई रु तीन लाख सहयोग गर्ने मधेश प्रदेश सरकारको निर्णय प्रशंसायोग्य रहेको मन्त्री भुसालको भनाइ थियो । कार्यक्रममा पर्साका १८ परिवारलाई मन्त्री भुसालले कदरपत्र र रु एक लाखको चेक हस्तान्तरण गर्नुभयो । शहीद परिवारलाई प्रतिमहिना रु तीन हजार उपलब्ध गराउने नेपाल सरकारले निर्णय गरिसकेको र केही दिनभित्र सो रकम उपलब्ध गराइने उहाँले जानकारी दिनुभयो ।

 मधेश प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले विकास र समृद्धिको लक्ष्य हासिल गर्न तीनै तहको सरकार प्रयत्नशील रहेको बताउनुभयो ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।