विद्युत् उत्पादनलाई प्राथमिकतामा राखेर आयात र निर्यातलाई सन्तुलनमा ल्याउनुपर्छ : मन्त्री खाँण

RSS २०७८-१२-१७ ०९:५१:०० बजे

काठमाण्डौ।गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा रहेका नदीको पानी उपयोग गर्दै विद्युत् उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । गैरआवासीय नेपाली सङ्घको १०औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारीसँग गृह मन्त्रालयमा आज भएको भेटमा मन्त्री खाँणले स्वदेश मै उत्पादित विद्युत् सबै नेपालीहरूको घरघरमा पु¥याएर खपत बढाएमा मात्रै पेट्रोलियम पदार्थको आयात घटाउन सकिने बताउनुभयो । 

उहाँले आयात र निर्यातमा सन्तुलन नभएको र व्यापार घाटा बढ्दो रहेको पनि बताउनुभयो । विद्युत् उत्पादन गरेर खपत गर्न सक्ने अवस्था बन्यो भने मात्रै व्यापार घाटा कम गर्न सकिने उहाँको धारणा थियो । उहाँले नेपालको संविधान २०७२ राजनीतिक दलबीचको सहमतिबाट संशोधन र परिमार्जन गर्न सकिने जानकारी गराउँदै संविधान संशोधन गरेर गैरआवासीय नेपालीलाई नागरिकतालगायत सहुलियत दिन सकिने र त्यस विषयमा सरकार सकारात्मक रहेको बताउनुभयो ।

नेपालको राज्य प्रणालीले गैरआवासीय नेपालीलाई विदेशी मान्न तयार नरहेको भन्दै राज्य गैरआवासीय नेपाली कहिले नेपाल फर्किन्छन् भन्ने प्रतीक्षामा रहेको बताउनुभयो । संविधानमा व्यवस्था भएअनुरूप कानून बनाएर गैरआवासीय नेपालीलाई नागरिकता दिन सरकारले पहल गर्ने गृहमन्त्री खाँणको भनाइ थियो । उहाँले गैरआवासीय नेपालीलाई नेपाल आउन र नेपालबाट बाहिर जान सहज बनाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एनआरएनए डेस्क’ स्थापनाको तयारी सरकारले गरिरहेको बताउनुभयो । 

भेटमा गृहमन्त्री खाँणलाई एनआरएनएका तर्फबाट पाँच बुँदे मागपत्र बुझाइएको थियो । मागमा गैरआवासीय नागरिकलाई गैरआवासीय नागरिकता दिनुपर्ने, वैदेशिक रोजगारीमा जाने र फर्किनेलाई अन्तर्राष्ट्रिय विमानस्थलमा सहज वातावरण निर्माण गरिनुपर्ने, जन्मस्थान नेपाल लेखेका राहदानीवाहकलाई नेपाल प्रवेशाज्ञामा सहज बनाइदिनुपर्ने लगायत उल्लेख छ । भेटमा नवनिर्वाचित अध्यक्षद्वय कुल आचार्य र डा बद्री केसीले मागबारे आफ्ना धारणा राख्नुभएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।