अडलट कारोबार हुँदासमेत नेप्से निरीह र मूकदर्शक,चलखेलमा संलग्न ७ ब्रोकर कम्पनीलाई होला त कार्वाही?

अर्थबिट ११:४७:०० बजे

काठमाण्डौ।प्रावधान विपरित अडलट कारोबार हुँदा समेत नेपाल स्टक एक्सचेञ्ज(नेप्से) निरीह र मूकदर्शक बनेको छ भने विभिन्न ७ ब्रोकर कम्पनी अडलट सेयर कारोबार चलखेलमा संलग्न भएको खुलासा भएको छ । 

धितोपत्रको दोस्रो बजारमा हिजो सोमबार पहिलो कारोबार भएको सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको विभिन्न ७ ब्रोकर कम्पनीहरुको मिलीभगतमा कुल ६० कित्ता अडलट कारोबार भइरहँदासमेत नेप्से निरीह र मूकदर्शक बनेको हो ।प्रावधान विपरित अडलट कारोबार भइरहँदा नेप्सेको नियमन तथा सुपरीवेक्षण क्षमतामाथि नै प्रश्नचिन्ह खडा भएको त छ नै मिलीभगतमा सुपरीवेक्षणका अधिकारीहरुको समेत साथसमर्थन रहेको भन्ने आशंकासमेत उब्जिएको छ । 

गत शुक्रबार नेप्सेमा सूचीकरण भएपछि धितोपत्रको दोस्रो बजारमा हिजो सोमबारबाट पहिलो कारोबार भएको सीवीवाइसी नेपाल लघुवित्तको कुल ११ कारोबारमध्ये १० कारोबार अडलटमा भएका छन् । प्रावधान विपरित अडलट कारोबारमा ब्रोकर नम्बर ५८,१४,५३,७,४०,४३ र ५९ संलग्न रहेको नेप्सेको फ्लोरसिट तथ्यांकमा प्रष्ट देखिन्छ । 

सो कम्पनीको धितोपत्र धारक सबैसँग १० कित्ता सेयर हुन्छ तर पहिलो कारोबार नै अडलट हुनु चाहिँ अस्वभाविक तथा चलखेल नै मानिन्छ । यो घटना पहिलो भने होइन । प्रचलित कानून र व्यवस्था विपरित अडलट कारोबार हुँदा नेप्सेले नै डण्डा चलाउन असमर्थ जाहेर गर्दै आइरहेको थियो । अर्थबिट डटकमले ग्रीन भेन्चर्सको सेयरमा समेत अडलटमा कारोबार भइरहेको विषयमा नेप्सेका सीइओ कृष्ण कार्कीलाई अनौपचारिक ध्यानाकर्षण गराए लगत्तै गत बैशाख २५ गते सम्पूर्ण ब्रोकर कम्पनी तथा सरोकारवालाहरुलाई अडलट कारोबार नगर्न र नगराउन कडा निर्देशन दिइएको थियो । 

गत बैशाख २५ गते नेप्सेका सुपरिवेक्षण शाखाका वरिष्ठ अधिकृत मिलन मगरद्वारा हस्ताक्षरित सूचनामा समेत अडलट कारोबार नगर्ने र नगराउन कडा निर्देशन दिइएको थियो । कानूनी व्यवस्था तथा प्रचलित कानून बमोजिम धितोपत्र कारोबार गर्ने जिम्मा पाएको सदस्य दलाललाई सचेत गराउँदै ब्रोकरको टीएमएस प्रणालीबाट अनलाइन वा अफलाइन कारोबार नगर्न र नगराउन निर्देशन दिइएको थियो ।

सो निर्देशनलाई सेयर बजार विश्लेषक रविन्द्र भट्टराईले नेप्सेले पुरानो नियमलाई नयाँ झैँ विज्ञप्ति जारी गरिरहेको टिप्पणी गरेका थिए ।

 

बदनियत राखी धितोपत्र खरिदबिक्रीमा गरिने अडलट कारोबार प्रावधान विपरित छ । प्रायः नयाँ कम्पनीको धितोपत्र दोस्रो बजारमा सुरुवाती कारोबारका दौरान अडलट कारोबार गरी सेयरमूल्य प्रभावित बनाउने र खरिद सहजका लागि अडलटको लुपहोल प्रयोग गरिने बजार जानकारहरु बताउँछन् । 

वि.सं.२०७५ साउन २० गतेदेखि लागू भएको धितोपत्र कारोबार सञ्चालन विनियमावली,२०७५को परिच्छेद २ को बुँदा नम्बर ५ अन्तर्गत कारोबार इकाईका सम्बन्धमा भएको व्यवस्था अनुसार कारोबार इकाई वा सो भन्दा बढी धितोपत्र भएका धितोपत्रधनीहरुले त्यस्तो धितोपत्रलाई अडलट बनाई बिक्री गर्न पाइने छैन । 

कारोबार इकाइभन्दा कम परिमाणको धितोपत्र अडलट हुनेछ र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिन्छ । 

 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।