काठमाण्डौ । शेयर बजारमा जोखिम अत्याधिक बढेपछि ब्रोकरको लिमिट ( शेयर कारोबारको सीमा हाल ब्रोकरले नगद वा बैंक जमानतको २५ गुणा पाउने व्यवस्था) मा नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) ले कैंची लगाउने भएको छ ।
एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर कार्कीले शेयर बजारमा जोखिम अत्याधिक बढेपछि ब्रोकरको लिमिटमा कैंची लगाउने तयारी भएको बताएका हुन् । गोप्य अनुसन्धानमार्फत ब्रोकरहरुले लिमिट ( धरौटी रकम) आफैं र केही सीमित व्यक्तिहरुलाई मात्रै प्रयोग गर्न दिइरहेको पत्ता लागेपछि आफू बाध्य भएको उनको भनाइ छ । उक्त गोप्य अनुसन्धानमा २५ गुणाको लिमिट शेयर किनबेचमा कृत्रिम मूल्य उत्तारचढाव गराउन पनि प्रयोग भइरहेको भेटिएपछि अब ब्रोकर लिमिटमा कैंची लगाइने उनले बताए । सहकारी तथा बैंकहरुमा सञ्चालकका कारण जोखिम भई ठूलो दूर्घटना भोग्नु परिरहेको अवस्थालाई मध्यनजर गर्दै शेयर बजारमा पनि हुनसक्ने गम्भीर तथा ठूलो क्षतिबाट जोगाउन ब्रोकर लिमिटमा कैंची लगाउन गइरहेको उनको तर्क छ । ब्रोकरहरुको पूँजी नै न्यूनतम २० करोड रुपैयाँ भएकाले सोही पूँजीलाई नै फण्ड वा लिमिटका रुपमा सदुपयोग हुनुपर्ने उनले स्पष्ट पारे ।
शेयर बजार अहिले पूर्ण अनलाइन भइसकेको अवस्था छ । अनलाइन कारोबार प्रणालीले प्रविधिगत जोखिमसमेत अत्याधिक बढाइरहेको नेप्सेले महशुस गर्दैछ । उक्त जोखिमबाट शेयर बजारलाई जोगाउन र लगानीकर्ताहरुको संरक्षण गर्नसमेत जोखिम व्यवस्थापनका लागि मौजुदा कानून,विनियमावली,कार्यविधिहरुको अध्ययन गरिरहेको स्रोतको दाबी छ । प्रविधिगत शेयर कारोबारले जोखिम अत्यन्तै बढाएपछि मौजुदा कानून,विनियमावली,कार्यविधिहरु समयसापेक्ष बनाउन जोड दिइने स्रोतले बतायो ।
के शेयर बजारमा ब्रोकर लिमिटको दुरुपयोग भएकै हो त ?
शेयर बजारमा ब्रोकर लिमिटको चरम दुरुपयोग भइरहेको छ । धितोपत्र कारोबारका सीमाको लागि दलालले नेप्सेले समय समयमा तोकिदिए बमोजिम नगद धरौटी वा बैंक जमानत राख्नुपर्ने व्यवस्था छ । धरौटीको २५ गुणासम्म कारोबार गर्न सक्ने गरी नेप्सेले आवश्यक व्यवस्था गर्ने उल्लेख छ ।
निकट समयमा लिमिटको दुरुपयोग हुँदा सबैभन्दा पहिले अप्रत्यक्ष रुपमा ब्रोकर डुबे तापनि प्रत्यक्ष रुपमा लगानीकर्ताहरु नै सहकारीको जस्तै प्रताडित हुनेछन् । सर्वसाधारणले सहकारीमा गरेको बचत रकम फिर्ता नपाएजस्तै शेयर बिक्रीबापतको रकम नपाउन सक्छन् । ब्रोकर र केही सीमित व्यक्ति बेलैमा उक्सिएपनि अन्ततः लगानीकर्ताहरुमाथि जोखिमको भार अधिक हुनेछ । यस्तै भयावह तथा विकराल अवस्था देखिने आंकलन गर्दै नेप्सेउपर अत्याधिक ठूलो दबाब सिर्जना भइरहेको स्रोतको भनाइ छ । ब्रोकरको लिमिट नगद वा बैंक जमानत बराबर मात्रै बनाउन लागिएको समेत अर्थबिट स्रोतको जिकिर छ ।
धितोपत्र कारोबारका लागि ब्रोकरलाई दिइरहेको २५ गुणा लिमिट खासमा लगानीकर्ताहरुको सहजताका लागि हो । तर हाल लगानीकर्ताहरुले न्यूनतम २५ प्रतिशत नगद अनिवार्य रुपमा राख्नुपर्ने व्यवस्था छ । कतिपय ब्रोकरले भने १०० प्रतिशत नगद कोल्याट्रल राखेपछि मात्रै शेयर खरिद गर्न दिंदै आएको छ । बजारमा तरलता र जोखिम व्यवस्थापनका लागि ब्रोकरलाई दिइएको २५ गुणाको लिमिट खासमा लगानीकर्ताहरुलाई हो तर सो लिमिट दुरुपयोग भइरहेको बताइएको छ ।
कर्णाली डेभलपमेन्ट बैंकलाई गत पुस १० गते समस्याग्रस्त घोषणा गरेपछि सो बैंकको पुस ११ गतेदेखि शेयर कारोबार स्थगित गरिएको छ । स्रोतका अनुसार एउटा नयाँ ब्रोकरको समेत उक्त कम्पनीको शेयरमा ठूलो रकम फसेको छ । करोडौं रकम होल्ड भएपछि हाल उक्त ब्रोकर डिप्रेशनमा गएको स्रोत दाबी गर्दछ । यस्तै हालसालै न्यूप्लाजास्थित एक नयाँ ब्रोकर कम्पनीका एक कर्मचारीले २० लाख रुपैयाँको लिमिट लिई शेयर किनेपछि हाल सम्पर्कविहीन छन् । यी त केही प्रतिनिधि घटनामात्रै हुन् । अर्थतन्त्रको कालो छायाँ सहकारी,बैंकहमा देखा परिसकेका छन् । अब अर्थतन्त्रको ऐना मानिने पूँजी बजारमा समेत पर्ने आंकलन चौतर्फी हुन थालेको छ । उसो त विगतमा पनि नेपालमा ब्रोकर कम्पनीहरुले घोटाला नगरेका होइनन् । कानूनतः उनीहरुको लाइसेन्स नै खारेजसमेत भएको थियो ।
क–कसले गर्दैछ ब्रोकरको लिमिट दुरुपयोग ?
१.नेप्सेकै कर्मचारी
नेप्सेका कर्मचारीलाई दोस्रो बजारमा शेयर किनबेच कानूनतः बन्देज छ । तर नेप्सेका प्रायः कर्मचारीहरु कार्यालयको काममा भन्दा शेयर बजारमा बढी अलमलिरहेका छन् । लिमिटको भरपूर फाइदा लिनेमा नेप्सेकै कर्मचारीहरु रहेको पाइएको छ । कारोबार सत्रमै नेप्सेबाटै पनि सो संस्थाका कर्मचारीहरुले शेयर किनबेच भइरहेको स्रोत बताउँछ । नियामकीय निकायको अधिकारी भएकै हवालामा ब्रोकरहरुले समेत शेयर खरिदबिक्रीमा लिमिट दिइरहेको भेटिएको छ । उनीहरुलाई नगद बिनै शेयर किनबेच गरी नाफा कमाइरहेका छन् । उस्तै परे नियमविपरीत लिमिट आफैं थप गर्दै शेयर कारोबारको अखडा बनिरहेको नेप्सेमा कतिपयले आफ्नै नामबाट त कतिपयले डमी नामबाट कारोबार गरिरहेको पत्ता लागेको छ । कतिपय कर्मचारी विरुद्ध सो विषयमा अख्तियार दुरुपयोग अनुसन्धानमा मुुद्दासमेत चलिरहेको स्रोतको भनाइ छ ।
२. ब्रोकर स्वयं
ब्रोकरले शेयर किनबेच गर्नै नमिल्ने त होइन तर अधिकांश ब्रोकर आफैं पनि २५ गुणासम्म पाएको लिमिटमार्फत शेयर किनबेच गरिरहेका छन् । सो लिमिट बजारमा तरलता तथा जोखिम व्यवस्थापनका लागि दिइएको हो । अनि लगानीकर्ताहरुको सहजताका लागि समेत हो । नेप्सेले गरेको एक अनौपचारिक अध्ययन अनुसार नयाँ ब्रोकर कम्पनीका प्रायः सञ्चालकहरु विगतका निकै ठूला र राम्रा शेयर लगानीकर्ता हुन् । ती नयाँ ब्रोकर कम्पनीका सञ्चालकहरुले नेप्सेद्वारा पाएको लिमिट आफैं शेयर किनबेच गर्न मात्रै प्रयोग भइरहेको स्रोत दाबी गर्छ । उसो त केही समयअघि कारोबार राफसाफ गर्न रकम अपुग भएपछि नेप्सेले नयाँ २ ब्रोकर कम्पनीलाई केही समयका लागि समेत निलम्बन गरेको थियो । बजारको जोखिम कम गर्न पूँजी करोडौं बनाए तापनि सोही पूँजीको सदुपयोगका सट्टा २५ गुणाको लिमिट रकम वित्तीय सूचक खराब र कम पूँजी भएका र जोखिमपूर्ण कम्पनीहरुको शेयर कर्नरिङ्ग गर्न प्रयोग भइरहेको स्रोतको दाबी छ ।
३. बाठा र ठूला लगानीकर्ता
ब्रोकरको २५ गुणा लिमिटको सदुपयोग गर्ने सुनौलो मौका केही सीमित बाठा तथा ठूला लगानीकर्ताहरुले पाएका छन्, बाँकी खुद्रे तथा नयाँ लगानीकर्ताहरु भने हेरेको हेर्यै । शेयर कारोबारमा ठूलो कारोबार गर्ने र ब्रोकरसँग कम्पनी सम्बन्धी भित्री सूचना पुर्याउने बाठा लगानीकर्ताहरुले पनि लिमिट प्रयोग गरिरहेको भेटिएको छ ।
यो पनि पढ्नुस : ब्रोकरको लिमिट शून्य बनाईँदै, शेयर कर्नरिङ्गमा दुरुपयोग भएको नेप्सेको ठहर