ब्रोकरको लिमिट शून्य बनाईँदै, शेयर कर्नरिङ्गमा दुरुपयोग भएको नेप्सेको ठहर

अर्थबिट २०८१-०९-१३ ०९:५१:०० बजे

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले धितोपत्र दलाल(ब्रोकर)को लिमिट शून्यमा झार्नका लागि आन्तरिक अध्ययन र व्यापक तयारी गरेको छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली,२०७५ संसोधन गर्दै नेप्सेले ब्रोकरको लिमिट शून्यमा झार्ने आन्तरिक अध्ययन र व्यापक तयारी गरेको हो । धितोपत्र कारोबारका सीमाको लागि दलालले नेप्सेले समय समयमा तोकिदिए बमोजिम नगद धरौटी वा बैंक जमानत राख्नुपर्ने व्यवस्था छ । धरौटीको २५ गुणासम्म कारोबार गर्न सक्ने गरी नेप्सेले आवश्यक व्यवस्था गर्ने उल्लेख छ । विनियमावलीमा भएको सोही व्यवस्थालाई संसोधन गर्दै नेप्सेले नगद वा बैंक जमानत बराबर मात्रै कारोबार सीमा व्यवस्था गर्न लागेको अर्थबिट स्रोतको भनाइ छ । अर्थात् ब्रोकरले पाइरहेको लिमिटमा २५ गुणाको सीमा शून्यमा झार्दै उसको नगद वा बैंक जमानत बराबर मात्रै दिने नेप्सेको तयारी छ ।  

ब्रोकरको लिमिटकै विषयमा यसै साता नेपाल धितोपत्र बोर्ड र नेप्सेसँग स्टक ब्रोकर्स एशोसिएसनका पदाधिकारीहरुले छलफलसमेत गरिसकेका छन् । ब्रोकर एशोसिएसनका एक पदाधिकारीका अनुसार यसै साता सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठसँग ब्रोकर लिमिट ५० गुणा बढाउनुपर्ने एजेण्डा जोडदार रुपमा राखिएको छ । त्यसका लागि विनियमावलीमा संसोधन गर्नुपर्ने र सो संसोधन मन्त्रिपरिषद्बाटै पास गर्नुपर्ने भएकाले थप छलफल गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।

ब्रोकर्स एशोसिएसनका एक पदाधिकारले हालसम्म ब्रोकर डिफल्ट नभएको अर्थबिटसँग जिकिरसमेत गरे । बैंक जमानतका लागि समेत कमिसन तथा शुल्क तिर्नुपर्ने जिकिर गरेका उनले लिमिट बढाएर ५० गुणा बनाएको खण्डमा ब्रोकरद्वारा प्रवाह हुने मार्जिन कारोबारका लागि समेत सहज हुने ब्रोकरहरुको बुझाइ छ । यसै साताको अन्ततिर नेप्सेसँग भएको छलफलमा आवश्यक सुझाव तथा सल्लाह समेत दिइएको दाबी गर्दै सो विषयमा नेप्सेले पनि थप अध्ययन गरिरहेको ती पदाधिकारीको दाबी छ । नेपालमा खरिद तथा बिक्री दुवैमा मार्जिन प्रयोग भइरहेको तर्क गर्दै ती पदाधिकारीले बाहिर नेटिङ्गमा मात्रै मार्जिन प्रयोग हुने गरेको तथ्य उल्लेख गरे । 

यता नेप्से भने कुनै पनि हालतमा ब्रोकरको कारोबार सीमा(लिमिट) शून्यमा झार्ने दाउमा छ । पछिल्लो समयमा सहकारी र बैंक तथा वित्तीय संस्थाहरुमा देखिएको अपचलन र फण्डको दुरुपयोगले सिर्जित समस्याले त्रासको वातावरण बनिरहेको छ । निकट समयमा ब्रोकरको माध्यमबाट शेयर बजारमा समेत त्यस्तै भयावह तथा विकराल अवस्था देखिने आंकलन गर्दै केही राजनीतिक शक्तिहरुले नै नेप्सेमा दबाब दिएकाले ब्रोकरको लिमिट नगद वा बैंक जमानत बराबर मात्रै बनाउन लागिएको अर्थबिट स्रोतको जिकिर छ ।

सरकारले २ वर्षअघि नै धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली–२०६४ संसोधन  गरेसँगै ब्रोकर कम्पनीको पूँजी ३० गुणासम्मले बढेको छ । उक्त नियमावली संशोधन भएसँगै ब्रोकर तीन तहमा विभाजित भएका छन् । नयाँ व्यवस्था अनुसार ब्रोकर कम्पनीको पूँजी २० करोड, ६० करोड र २ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था छ । पहिले २० लाख हुँदै २ करोड पूँजी भएको ब्रोकरको पूँजी हाल न्यूनतम पूँजी २० करोड रुपैयाँ रहेको छ । अर्थबिट स्रोतको दाबी पत्याउने हो भने समयसापेक्ष ब्रोकरहरुले पूँजीवृद्धि गरेसँगै फण्ड यथेष्ट भएकाले समेत लिमिट शून्यमा झार्ने नेप्सेको आन्तरिक तयारी छ । 

शेयर बजारमा बेथिति रोक्न र सुरक्षित शेयर कारोबार गराउने वातावरणका लागि समेत नेप्सेले ब्रोकरको लिमिट शून्यमा झार्न लागेको स्रोत जिकिर गर्छ । आधुनिक तथा व्यवस्थित शेयर बजार बनाउन लिमिट नगद वा बैंक जमानत बराबर नै बनाउने लागिएको बुझिएको छ । शेयर कारोबारमा तरलता प्रदान गर्न र ब्रोकरको सहजताका लागिसमेत हाल दिइरहेको २५ गुणा लिमिटको व्यापक दुरुपयोग भइरहेको नेप्सेद्वारा गरिएको एक अनौपचारिक अध्ययनले पुष्टि गरेको छ । ब्रोकरले सो लिमिट विभिन्न कम्पनीको शेयर कर्नरिङ्ग गर्न प्रयोग गरिरहेको भेटिएको छ । 

नेप्सेले गरेको एक अनौपचारिक अध्ययन अनुसार नयाँ ब्रोकर कम्पनीका प्रायः सञ्चालकहरु विगतका निकै ठूला र राम्रा शेयर लगानीकर्ता हुन् । ती नयाँ ब्रोकर कम्पनीका सञ्चालकहरुले नेप्सेद्वारा पाएको लिमिट आफैं शेयर किनबेच गर्न मात्रै प्रयोग भइरहेको स्रोत दाबी गर्छ । उसो त केही समयअघि कारोबार राफसाफ गर्न रकम अपुग भएपछि नेप्सेले नयाँ २ ब्रोकर कम्पनीलाई केही समयका लागि समेत निलम्बन गरेको थियो । बजारको जोखिम कम गर्न पूँजी करोडौं बनाए तापनि सोही पूँजीको सदुपयोगका सट्टा ठूलो लिमिट रकम वित्तीय सूचक खराब र कम पूँजी भएका र जोखिमपूर्ण कम्पनीहरुको शेयर कर्नरिङ्ग गर्न प्रयोग भइरहेको भेटिएपछि नेप्सेले ब्रोकरको लिमिट शून्यमा झार्ने तयारी गरिरहेको स्रोतको जिकिर छ । 

धितोपत्रको दोस्रो बजारमा पछिल्लो समय नयाँ लगानीकर्ताहरुको आगमनमा खडेरी परेको छ । प्राथमिक बजारमार्फत् आएका केही फाट्टफुट्ट लगानीकर्ता बाहेक प्रायः लगानीकर्ताहरु पुरानै हुन् । नयाँ आएका ब्रोकरहरुले कारोबार रकम बढाउन र सञ्चालन खर्च व्यवस्थापनका लागि भन्दै लगानीकर्ताहरुलाई उधारो शेयर खरिद गर्न लिमिट दिइरहेका छन् । उधारो कारोबारले नयाँ ब्रोकरका लागि टाउको दुखाईको विषयमात्रै बनिरहेको छैन कि कारोबार राफसाफका लागि समेत फण्ड जुटाउन निक्कै पापड पेल्नुपर्ने अवस्था रहेको छ ।

आजभोलि धितोपत्रको दोस्रो बजारमा ५–१० लाख रुपैयाँको मात्रै शेयर बिक्री गरेका लगानीकर्ताले समेत ५–७ दिन कुर्नुपर्ने अवस्था सिर्जना भइरहेको छ । साइडवेज अवस्थामा चलिरहेको अहिलेको बजार आगामी दिनमा उकालो लागेमा जोखिम भारी मात्रामा बढ्ने भएकाले सो जोखिम न्यूनीकरण गर्दै लगानीकर्ताहरुको हितका लागि ब्रोकरको लिमिट शून्यमा झार्नुपर्ने नेप्सेको ठहर छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।