पैसाबिनै ब्रोकरले गर्दैछन् अवैध शेयर कारोबार, लगानीकर्ताको पैसा डुब्नसक्ने प्रवल सम्भावना

अर्थबिट २०८१-०९-१८ १२:२४:०० बजे

काठमाण्डौ । धितोपत्रको दोस्रो बजारमा गैरकानूनी शेयर कारोबारले अत्यन्तै जोखिम बढाएको छ । जोखिम बढेसँगै  शेयर बजारका लगानीकर्ताहरुको रकम डुब्नसक्ने सम्भावनासमेत  प्रवल बनेको छ । 

लगानीकर्ताहरुसँग २५ देखि १०० प्रतिशत अग्रिम रकम लिई शेयर खरिद गर्न दिइरहेका ब्रोकरहरु आफैं अग्रिम रकम भुक्तानी नगरी करोडौं रकम बराबरको शेयर खरिद गरिरहेका छन् । नियममा भएको व्यवस्था कुल्चिँदै ब्रोकरले स्वयं अग्रिम रकम भुक्तानी नगरी शेयर खरिद गर्दा शेयर बजारमा जोखिम बढेको हो । जोखिम बढेसँगै  शेयर बजारका लगानीकर्ताहरुको रकम डुब्नसक्ने सम्भावनासमेत  प्रवल बनेको छ ।

धितोपत्र कारोबार सञ्चालन विनयमावली,२०७५ को विनियम ८ मा शेयर खरिद गर्दा अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने व्यवस्था रहेको छ । तर दोस्रो बजारमा बिना नगद भर्चुअल कारोबार उल्लेख्य बढेर अत्याधिक जोखिम बढाएको छ ।

कारोबार सदस्य अर्थात् धितोपत्र दलाल(ब्रोकर) ले खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयनमा हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने विनियमावलीमा उल्लेख छ । 

धितोपत्र कारोबार सञ्चालन विनयमावली,२०७५ को कार्यान्वयन र अनुपालना नभएको नेपाल धितोपत्र बोर्डका एक उच्च अधिकारीले खुलासा गरेका छन् । “विनियमावलीमा भएको व्यवस्था विपरीत दोस्रो बजारमा भर्चुअल कारोबार भइरहेको छ ।”,ती अधिकारीले भने,“नेप्सेले नियमविपरीत शेयर कारोबार भइरहेको अध्ययन प्रतिवेदन यहाँ(सेबोन)मा आएको केही समय भइसक्यो,तथापि त्यसको कार्यान्वयन हुन सकेको छैन ।”

“नियमतः खरिद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयनमा हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने व्यवस्था विपरीत भर्चुअल कारोबारले प्रश्रय पाइरहँदा सहकारी,बैंकजस्तै शेयर बजार जुनसुकै बेला डुब्नसक्छ ।”ती अधिकारीले जिकिर गरे । शेयर बजारमा खरिदबिक्री गर्न ब्रोकरलाई समेत अधिकार छ तर आफ्नै संस्था मार्फत चाहिँ बन्देज रहेको छ । अर्को ब्रोकरेज फर्मबाट शेयर कारोबार गर्दा हालसम्म कुनै पनि ब्रोकरहरुले अग्रिम रकम नलिई तथा नदिईकन करोडौं कारोबार भइरहेको उनले खुलासासमेत गरे । नेप्सेद्वारा दिइएको नगद वा बैंक जमानतको २५ गुणा शेयर कारोबारको सीमालाई बजारमा तरलता तथा सहजतामा प्रयोग गर्नुका साटो आफैं उपयोग गर्दै अप्राकृतिक तथा अस्वभाविक शेयर कारोबार भइरहेको बोर्डका ती उच्च अधिकारीको भनाइ छ ।

https://arthabeat.com/single/1735534632

विनियममा भएको व्यवस्था मुताविक परिपालनको स्थिति र कार्यान्वयन नभएको नेप्सेकै अधिकारीहरुको पनि भनाइ छ । विनियमको खिल्ली उडाउँदै भइरहेको नगदरहित शेयर कारोबारले निकटसमयमै बजार जुनसुकै बेला खाडलमा पर्न सक्ने उनीहरुले दाबीसमेत गरे । विनियममा भएको व्यवस्था सेबोनले कार्यान्वयन गर्नुपर्नेमा आजसम्म कुनै चासो नदिंदा आफू अचम्मित भएको उनीहरु बताउँछन् ।

यसैबीच नेप्सेले भने यस्तै जोखिम बढेको हुनाले जोखिम व्यवस्थापन विभाग हालसालै खडा गरेको छ । यद्यपि विनियमको कार्यान्वयनमा भने नेप्से र सेबोनले उदासीनता देखाउँदा दोस्रो बजारका लाखौं लगानीकर्ताहरुको अरबौं रकम जोखिममा समेत परेको देखिन्छ । पछिल्लो समय बजार घटाई र उधारो शेयर कारोबारले प्रायः ब्रोकरहरु तनावमा रहेका छन् । बजारमा नयाँ लगानीकर्ताहरुले नयाँ पैसा नल्याउँदा अनि भएकै पुरानालाई उधारो शेयर कारोबारको सुविधा दिएकै कारण बजार नबढेको उनीहरुको तर्क छ ।

हाल नेपाल राष्ट्र बैंक र सेबोनको निर्देशनमा नेप्सेमा कर्णाली विकास बैंकको शेयर कारोबार रोक्का भएको छ । अन्य बैंकहरुसमेत समयस्याग्रस्त हुँदा शेयर कारोबार हुनसक्ने चर्चा चलिरहेको छ । कर्णाली विकास बैंकको शेयरमा केही ब्रोकर तथा ब्रोकरेज फर्मकै पैसा होल्ड भएकाले शेयर बजारमा थप त्राससमेत सिर्जना भइरहेको बताइन्छ । खराब वित्तीय सूचक र कम आपूर्ति भएका शेयरमा मूल्य उचाल्न ब्रोकरहरुको लिमिट प्रयोग भइरहेकाले आगामी दिनमा शेयर बजारमा झन् जोखिमको हद पार भइरहेको जानकारहरुको भनाइ छ । यसैकारण समेत निकट भविष्यमा सहकारीेले बचत रकम फिर्ता नगरेजस्तै शेयर बिक्रीबापतको रकम लगानीकर्ताहरुले भुक्तान नपाउँदा शेयर बजारको विश्वसनीयतासमेत खस्कनसक्ने बताइन्छ । 

ब्रोकरले धरौटीको २५ गुणासम्म शेयर कारोबार गर्नसक्छन् भने लगानीकर्ताले अग्रिम रकमको ४ गुणासम्म मात्रै शेयर खरिद गर्नसक्ने प्रावधान रहेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।