धरान । धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताहरुको रकम फिर्ता नगर्ने रहस्यको खुलासा भएको छ ।
बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडले हजारौं सर्वसाधारणको अर्बौं रकम बचतकर्तालाई फिर्ता नगर्ने बदनियत राख्दै बिदेशमा सुरक्षित ढंगले पुर्याइसकेको कारण उक्त रकम कहिल्यै फिर्ता गर्न नै नसक्ने गरी अन्तिम अवस्थामा आएको खुलासा भएको हो ।
धरान उपमहानगरपालिकाका एक उच्च अधिकारीका अनुसार अब बराह कहिल्यै नउक्सिने गरी डुबिसकेको छ । बराह सहकारीका अध्यक्ष र बराह ग्रूपका एमडीसमेत रहेका मान बहादुर विश्वकर्माले बराह ग्र्र्रू्रपअन्तर्गत करिब २ दर्जन कम्पनीहरुमा सहकारीको ब्यानरमा ठगी गरेको ती अधिकारीले बताए । “यो केस ‘मनी लण्डरिङ्ग’सँग सम्बन्ध राख्दछ । नउक्सिने गरी डुबिसकेको छ ।”,ती उच्च अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा अर्थबिटसँग भने । बराह ग्रूपको भने ‘सेफ ल्याण्डिङ्ग’ भइसकेको जिकिर गर्दै ती उच्च अधिकारीले व्यवसाय विस्तार गर्ने क्रममा हङकङ र युकेमा सबै पैसा बाहिर पठाइसकेको दाबीसमेत गरे । राज्यले चाहेमा उक्त पैसा फिर्ता ल्याएर हजारौँ सर्वसाधारणको अर्बौं रकम जोगिन सक्ने उनको भनाइ छ ।
“बराह ग्रूपका ५–६ वटा बैंकले १ वर्षभित्रै लिलामी गरी सबै सम्पत्ति असूल गर्छ”,उपमहानगरपालिकास्थित उच्च स्रोतले भन्यो,“अब बराह ग्रूपको पकडमै नभएको विषय हो । २ वटा बैंकले लिलामी गरिसके बाँकी सबै गरेपछि कहीँ पनि रहँदैन । बैंकहरु लिलामी प्रक्रियाका लागि प्रवेश गरिसकेका छन् र आशाको दियो सबै निभिसकेको अवस्था हो ।”
स्थानीय निकाय धरान उपमहानगरपालिकाले नियमन गर्दै आइरहेको बराह सहकारीलाई संकटग्रस्त सहकारीको सूचीमा राखी सहकारी ऐन,२०७५ बमोजिम कार्वाही प्रक्रिया अगाडि बढाउनुपर्ने सिफारिससमेत गरिसकेको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उद्धव प्रसाद रिजालले बराह ग्रूपले सहकारीको ब्यानरमा ‘फ्रड’ भएको स्वीकारे । उनका अनुसार ग्र्रूपले डुबाएको १४ अर्ब रुपैयाँ,कोपोमिसका ७६ करोड रुपैयाँ र शेयर सदस्य ५ हजार ८८ जना रहेका छन् । अडिटरको पछिल्लो अपडेट अनुसार ग्र्र्रूपको सम्पत्ति ७.५२ अर्ब रुपैयाँ मात्रै छ तर दायित्व १४ अर्ब रहेकाले ठूलो घोटाला भएको रिजाल बताउँछन् । “अध्यक्ष मान बहादुर विश्वकर्माले अर्बौँ रकम आफूले धान्नै नसक्ने गरी बचत आएका कारण संस्था आफ्नो पकड बाहिर गएको हो भनी मेरै कार्यालयमा आएर भनेका हुन्”,उनले भने ।
यता बराह सहकारी पीडित संघर्ष समितिका अध्यक्ष श्याम प्रसाद ढकालले पनि बराह सहकारीले बचतकर्ताहरुको रकम फिर्ता गर्न नसक्ने अवस्था आएको अर्थबिटसँगको कुराकानीका क्रममा बताए । विभिन्न आन्तरिक झमेला र गोलमालका मुख्य मतियार बराह सहकारीका अध्यक्ष मान बहादुर विश्वकर्माले डुबाएको ढकालको आरोप छ । “तिर्नुपर्ने दायित्व धेरै तर सम्पत्ति थोरै भएका कारण चुर्लुम्मै डुबेको बराह सहकारीले बचतकर्ताहरुको रकम फिर्ता गर्नै नसक्ने अवस्थामा छ”,उनले अर्थबिटसँग भने,“हामी निरीह र लाचार भएरै अलिकति अघि सरेर व्यवस्थापन गरौँ भन्ने अभिप्रायले खटिरहेका छौँ ।”
देशभर नै सहकारी क्षेत्रमा बेथिती बढ्दो छ । हजारौं सर्वसाधारणको अर्बौं रुपैयाँ बचत रकम धरापमा परेको तीतो यथार्थ छ । सहकारीलाई संकटग्रस्त घोषणा गरी बचतकर्ताहरुको रकम केही वर्षपछि फिर्ता भएका उदाहरणहरु पनि छन् ।
राजनीतिक संरक्षण र कानूनी लूपहोल प्रयोग गर्ने सहकारीका सञ्चालकहरुको चलअचल सम्पत्ति खोजविन गरी बचत फिर्ता गराउनेतर्फ सम्बन्धि सम्पूर्ण निकाय र सरोकारवालाले पहल गर्न जरुरी छ । अर्थतन्त्रको ३ खम्बे अर्थनीतिअन्तर्गत रहेको सहकारी क्षेत्रको साख र विश्वासलाई सबै मिलेर जोगाउनु पर्छ ।
र यो पनि पढ्नुस् : उपमहानगरपालिकाको छानबिन प्रतिवेदन भन्छ– बराहलाई संकटग्रस्त सहकारीको सूचीमा राख्दै ऐन बमोजिम कार्वाही (arthabeat.com)