'बिजुली निर्यात गरी व्यापार घाटा न्यूनीकरण गर्न सकिन्छ'

RSS २०७९-०३-१८ ०९:५६:०० बजे

काठमाण्डौ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुली निर्यात गरेर विद्यमान व्यापार घाटा न्यूनीकरण गर्न सकिने बताउनुभएको छ । ललितपुरमा आज आयोजित कार्यक्रममा उहाँले नेपालमा जलविद्युत्को प्रचुर सम्भावना रहेको र भविश्यमा अर्बौं रुपैयाँको बिजुली निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्न सकिने उल्लेख गर्नुभयो । 

नेपालले पछिल्लो एक महिनामा रु एक अर्ब ७२ करोड बराबरको बिजुली भारत निर्यात गरेको छ । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पाँच आयोजनाबाट उत्पादित ३६४ मेगावाट बिजुली भारत निर्यात गरिरहेको छ । प्राविधिकरुपमा ४३ हजार मेगावाट बिजुली उत्पादन गर्न सकिने विभिन्न अध्ययनले देखाएका छन् । 

कृषि, जलविद्युत् र पर्यटन क्षेत्र नै अर्थतन्त्रको मेरुदण्ड भएको उल्लेख गर्दै मन्त्री भुसालले जलविद्युत्को उचित विकास गरेर देशलाई समृद्ध बनाउने सबैको जिम्मेवारी रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिजुलीको खपत गरेर नेपाली धनी बन्न सक्छन्, बढी भएको बिजुली निर्यात गरेर नै देश समृद्ध बन्न सक्छ ।”

आगामी दुई वर्षभित्र देशभर विद्युतीकरण गर्ने सरकारको लक्ष्य रहेको उल्लेख गर्दै मन्त्री भुसालले त्यसका लागि जलविद्युत्, सौर्यलगायत वैकल्पिक ऊर्जाका स्रोतको अधिकतम प्रयोग गरिने बताउनुभयो । देशभर गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन विद्युतीकरणका संरचरनागत सुधारमा आफूले जोड दिएको उल्लेख गर्दै उहाँले विद्युतीय सवारी साधन र विद्युतीय उपकरणको प्रयोग गरेर खपत बढाउन अपिल गर्नुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।