साउनदेखि माथिल्लो दोर्दी ‘ए’ को बिजुली

RSS २०७९-०३-२७ ०४:००:०० बजे

काठमाण्डौ।लिवर्टी इनर्जी हाइड्रोपावरद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माणाधीन माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनाको बिजुली उत्पादन आगामी साउन महिनादेखि गर्ने लक्ष्य राखेको छ ।  कूल २५ मेगावाट क्षमताको यस आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब साउन महिनाभित्रै बिजुली उत्पादन हुने आयोजनाका प्रवद्र्धक राजेन्द्र वस्तीले बताउनुभयो । 

आयोजनाले पटक–पटक म्याद थप गर्दै थपिएको अन्तिम म्याद आगामी साउन महिनासम्म रहेको र सो भित्रै जसरी पनि बिजुली उत्पादन हुने उहाँको भनाइ छ । आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको छ । गतवर्ष दोर्दी खोलामा आएको बाढीले क्षति बनाएको खण्डको काम भइरहेको छ ।

“यतिबेला पेनस्टक पाइपमा, टनेलमा पानी भर्ने काम भयो, हेडबक्समा गत वर्ष बाढीले क्षति बनाएको आधा काम बाँकी छ”, प्रवद्र्धक वस्तीले भन्नुभयो, “आयोजनाको बाँधस्थल लोदो खोलाबाट दुई हजार ७०० मिटर लामो भूमिगत सुरुङ र दुई हजार ७०० मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युत् गृहमा झारिने छ । ”

यसको सफल परीक्षणसमेत भइसकेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार उक्त लाइन निर्माण भएसँगै परीक्षण उत्पादन थाल्ने र सफल भएसँगै व्यावसायिक रुपमा बिजुली उत्पादन हुनेछ । 

आयोजना निर्माणका क्रममा रु तीन अर्ब ९६ करोड लगानीमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि बढेर हाल रु चार अर्ब ६३ करोड ६० लाख लाग्ने आयोजनाले जनाएको छ । 

आयोजनाको लागत प्रतिमेगावाट रु १८ करोड ५४ लाख लाग्ने कम्पनीको अनुमान छ । आयोजनाको बिजुली हिउँदको समयमा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा हुने गरी प्रवद्र्धक कम्पनी लिवर्टी र विद्युत् प्राधिकरणबीच विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) भएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।