ऊर्जा व्यापारलाई थप विस्तार गरी आपसी लाभ लिने विषयमा भारत तयार

RSS २०७९-०४-१८ १२:३९:०० बजे

काठमाण्डौ।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको छ । 

सो अवसरमा मन्त्री भुसालले भारी वर्षासँगै सप्तकोसीमा आएको बाढीका कारण एक हजार घर विस्थापित भएको बताउँदै दुवैतर्फको संयन्त्रले सक्रियतापूर्वक समस्याको समाधान गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाल–भारतबीचमा भइरहेको ऊर्जा व्यापारलाई थप विस्तार गर्दै लैजानका लागि आपसी सहकार्य सक्रिय बनाउनुपर्ने बताउनुभयो । 

नेपाल र भारतबीच सम्झौता भएका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी तुल्याउनका लागि दुवै पक्षले पहल गरेर नतिजा दिन ढिला गर्न नहुने उल्लेख गर्दै मन्त्री भुसालले आगामी दिनमा आयोजना निर्माणका लागि द्विपक्षीय तयारीलाई तीव्रता दिनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा नेपालका लागि भारतका राजदूत श्रीवास्तवले आफूले भारतका जलविद्युत् तथा सिँचाइसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग निरन्तर छलफल गरिरहेको जानकारी गराउँदै आगामी दिनमा दुई देशबीच सहमति भएका आयोजनाको कार्यान्वयनलाई प्रभावकारी तवरले अगाडि बढाउन पहल गर्ने विश्वास दिलाउनुभयो । उहाँले दुई देशबीच हुँदै आएको ऊर्जा व्यापारलाई थप विस्तार गरी आपसी लाभ लिने विषयमा भारत तयार रहेको बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।