इष्टर्न हाईड्रोपावरले आइपीओ निष्कासन गर्ने

अर्थबिट २०७९-०४-२९ १०:१२:०० बजे

काठमाण्डौ।इष्टर्न हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी भदौ ७ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित दरमा रु छ करोड २० लाख मूल्य बराबरको छ लाख २० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ ) बिक्री खुला गर्ने भएको हो ।

आयोजनाले प्रभाव पार्ने भोजपुर जिल्लाका स्थायी बासिन्दाले आगामी भदौ २१ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असोज ५ गतेसम्म न्यूनतम १० देखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ ।

कम्पनीले भोजपुरको पिखुवा खोलामा पाँच मेगावाट क्षमताको पिखुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

साथै एनएमबि बैंकको भोजपुर शाखा, ग्लोबल आइएमई बैंकको भोजपुर शाखा, प्रभु बैंकको भोजपुर तथा हतुवागडी शाखा र लक्ष्मी बैंकको भोजपुर शाखा कार्यालयबाट शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ्गस् नेपालले ‘केयरएनपी–बी प्लस आइएस’ रेटिङ्ग प्रदान गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।