नेशनल हाइड्रोपावर कम्पनीले लिलामीमा सकारेपछि तल्लो इन्द्रावतीको निर्माण प्रक्रिया अघि बढ्यो

RSS २०७९-०४-३० ०९:११:०० बजे

काठमाण्डौ।दस वर्षभन्दा लामो समयदेखि अलपत्र परेको सिन्धुपाल्चोकको तल्लो इन्द्रावती जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया पुनः अघि बढेको छ । विसं २०६७ देखि बन्द भएर खारेज भएको सो आयोजनालाई नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले लिलामीमा सकारेपछि पुनः निर्माण प्रक्रिया थालिएको हो । 

चार दशमलव पाँच मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि आज कम्पनीले प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन गरी सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत आयोजनाबाट प्रभावित हुने ७, ८, ९, १० र ११ का वडाध्यक्ष, प्रभावित स्थानीयलगायत सरोकारवाला निकायको उपस्थिति थियो । कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जलविद्युत् क्षेत्रको विकासका लागि स्थानीय सरकार सकारात्मक रहेको र स्थानीयको समस्या समाधान गर्दै तल्लो इन्द्रावती आयोजना निर्माणमा सहयोग गर्ने बताउनुभयो । 

यस्तै उपप्रमुख उमा प्रधानले आयोजना निर्माणका लागि सहकार्य गर्दै प्रभावित क्षेत्रको विकासमा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो । सार्वजनिक सुनुवाइ कार्यक्रममा प्रभावित स्थानीयबाट उठेका प्रश्नलगायत जलविद्युत् क्षेत्रको महत्व र आवश्यक्ताका विषयमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका अध्यक्ष कुमार पाण्डेले प्रस्ट पार्नुभएको थियो । आयोजनाबाट मेलम्ची नगरपालिका–७, ८, ९, १० र ११ वडा प्रत्यक्ष प्रभावित हुने कम्पनीले जनाएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।