काठमाण्डौ।सिक्लेस हाइड्रोपावर लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणलाई आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले आज भदौ २९ गतेदेखि सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो ।
जसमध्ये ५७ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकि रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । आवेदन दिन इच्छुकले आगामी असोज २ गतेसम्म आइपीओमा आवेदन दिन सक्ने छन् । शेयर निष्काशनका लागि बिओके क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीयलाई साउन ६ गतेदेखि भदौ ५ गतेसम्म आइपीओ बिक्री गरी बाँडफाँड गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई गरी २० करोड बराबरको २० लाख कित्ता आईपीओ निष्काशनका लागि अनुमति पाएको हो।
क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल काठमाण्डौले केयर–एनपी डब्बल बी पोजिटिभ रेटिङ्ग प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ ।
मद्क्यु खोला जलविद्युत आयोजनाको १३ मेगावाट कुल लागत २ अर्ब ३१ करोड ७६ लाख ५५ हजार रुपैयाँ रहेको छ ।मद्क्यु खोला जलविद्युत आयोजनाको प्रतिमेगावाट लागत रु. १७ करोड ८२ लाख ८१ हजार १५४ (निर्माण अवधिको व्याज सहित) रहेको छ । कम्पनीले मादी गाउँपालिकाको मद्क्यु खोलामा १३ मेगावाटको आयोजना निर्माणसम्पन्न गरि २०७४ साल चैत्र २९ गतेदेखि विद्युत उत्पादन गरिरहेको छ ।