बङ्गलादेशले नेपालसँग ५० मेगावाट बिजुली खरिद गर्ने

अर्थबिट २०७९-०७-०८ ०७:४३:०० बजे

काठमाण्डौ।बङ्गलादेशले नेपालसँग ५० मेगावाट विद्युत् खरिद गर्ने भएको छ । प्रधानमन्त्री शेख हसिनासँग बङ्गलादेशका लागि नेपालका राजदूत घनश्याम भण्डारीले आज गर्नुभएको शिष्टाचार भेटवार्तामा प्रधानमन्त्रीले सो विषय जानकारी गराउनुभएको हो । सन् २०४० सम्म बङ्गलादेशले कूल नौ हजार मेगावाट बिजुली खरिद गर्ने यसअघि नै सार्वजनिक गरिसकेको छ । बङ्गलादेशले भारतीय कम्पनी ग्रान्धी माल्लिकार्जुन राव(जिएमआर)ले निर्माण गर्ने माथिल्लो कर्णाली जलविद्युत आयोजनाबाट पाँच सय मेगावाट बिजुली लैजाने सहमति गरेको छ ।

शिष्टाचार भेटमा शिक्षा, पर्यटन, ऊर्जा, व्यापार र पारवहनलगायतका विषयमा कुराकानी भएको बङ्गलादेशस्थित नेपाली दूतावासले जनाएको छ । सो अवसरमा राजदूत भण्डारीले पछिल्लो ५० वर्षमा सरकारी र दुई देशका जनता जनताबीचको सम्बन्ध निरन्तर समृद्ध हुँदै गएको, एक अर्का देशबीचको सहकार्यका अलावा असल छिमेकीको सम्बन्ध रहेको बताउनुभएको थियो ।

प्रधानमन्त्री हसिनाले नेपालको राजनीतिक र नागरिक समाजले बङ्गलादेशको स्वतन्त्रताका  सङ्ग्राममा नेपाली राजनीतिक तथा नागरिक समाजले गरेको सहयोगको स्मरण गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्ध उत्कृष्ट रहेको बताउनुभयो । उहाँले दुई देशबीचको व्यापार, ऊर्जा, पर्यटन र जलवायु परिवर्तनका क्षेत्रमा रहेको सम्भावना र साझा सहकार्यका सम्बन्धमा चर्चा गर्दै ‘बीबीआइएन’ मार्फत विस्तारित सम्पर्क सञ्जालको महत्वमा जोड दिनुभएको थियो ।

बङ्गलादेशी प्रधानमन्त्रीले राजदूत भण्डारीलाई आफ्नो सरकारको पूर्ण सहयोग रहने र सहकार्यसमेत हुने भन्दै सफल कार्यकालको कामना गर्नुभयो । राजदूत भण्डारीले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको बङ्गलादेशस्थित नेपाली राजदूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।