भरतमोहन अधिकारी फाउण्डेसन र नाफिजको सहकार्यमा २ आर्थिक पत्रकारलाई ५०–५० हजार रुपैयाँको दरले पुरस्कृत गरिने

अर्थबिट २०७९-०८-२० ०८:२६:०० बजे

काठमाण्डौ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले भरतमोहन अधिकारी स्मृती फाउण्डेसनको आर्थिक सहयोगमा २ आर्थिक पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । नाफिजले फाउण्डेसनको सहयोगमा ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ प्रदान गर्ने भएको हो ।

नाफिजका अध्यक्ष मोदनाथ ढकाल र फाउण्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मंगलबार एक कार्यक्रमका बीच पुरस्कार प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो । हस्ताक्षरकर्ता अधिकारी पूर्व अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीकी पुत्री हुनुहुन्छ ।

नाफिज सक्रिय आर्थिक पत्रकारहरुको छाता संस्था हो । फाउन्डेसनको सहयोगमा नाफिजले आर्थिक तथा सहकारी बिटमा कलम चलाउँदै आएका आर्थिक पत्रकारको वृत्ति विकास, क्षमता विस्तार र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्याउने हेतुले पुरस्कार प्रदान गरिने भएको हो । पुरस्कारले स्वस्थ तथा खोजमुलक आर्थिक पत्रकारितालाई प्रबद्र्धन गर्ने अपेक्षा गरिएको छ ।

यो वर्षको ‘भरतमोहन अधिकारी – नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी – नाफिज सहकारी पत्रकारिता पुरस्कार’ मंसिर २८ गते नाफिजको छैठौं महासभाको विशेष समारोहमा ५०–५० हजार रुपैयाँको दरले २ जनालाई प्रदान गरिनेछ । पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहने गरी ३ सदस्यीय कार्यदल गठन गरिनेछ ।

फाउण्डेसन र नाफिजबीच भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्ने सहमति पनि भएको छ ।

भरतमोहन अधिकारी पूर्व उपप्रधान तथा अर्थमन्त्री एवम् नेकपा एमालेका नेता हुनुहुन्छ । उहाँको जन्म वि.सं. १९९३ साल वैशाख २२ गते महोत्तरी जिल्लाको भ्रमणपुरा गाउँमा भएको थियो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीका सहोदर भाइ भरतमोहन अधिकारी तीनपटक अर्थमन्त्री हुनुभएको थियो । वि.सं. २०५१ सालमा ‘आफ्नो गाउँ आफैं बनाऔं’ कार्यक्रम, महिला र पुरुषको नाममा संयुक्त रजिष्ट्रेशन पास र गाउँगाउँमा सहकारी जस्ता कार्यक्रम उहाँकै कार्यकालमा ल्याइएको थियो ।

अधिकारी वि.सं. २०५३ मा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत हुनुभएको थियो । वि.सं.२०५६, वि.सं. २०६१ मा पनि अधिकारी अर्थमन्त्री हुनुभयो । वि.सं. २०६७ सालमा उहाँ उपप्रधान तथा अर्थमन्त्री बन्नुभयो । उहाँको निधन २०७५ साल फागुन १८ गते भएको थियो । फाउण्डेसनको स्थापना २०७६ साउनका भएको हो । उहाँकै सम्झनामा पुरस्कार प्रदान गर्ने घोषणा गरिएको हो ।

सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै अधिकारी पुत्री लिमाले भरतमोहन अधिकारीले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा सहकारी क्षेत्रमा पु¥याउनु भएको अतुलनीय योगदानलाई सधैं चिर स्थायित्व दिन तथा नेपालको आर्थिक तथा सहकारी पत्रकारितामा विशिष्ट योगदान पु¥याउने पत्रकारहरूलाई सम्मान गर्न नाफिजसँग सम्झौता गरिएको बताउनुभयो ।

फाउण्डेसनले यसअघि ज्येष्ठ नागरिकका लागि शैक्षिक कार्यक्रममार्फत सामान्य लेखपढ गर्न, हिसाब राख्न, मोबाइल फोन, इलेक्ट्रोनिक सामान र टेलिफोन प्रयोग गर्न तथा सडक संकेतबारे जानकारी लिन सक्ने बनाउने कक्षा सञ्चालन गरिसकेको अधिकारीले बताउनुभयो । साथै, आफ्नो बुबाको सपना साकार पार्न फाउण्डेसनमार्फत गर्ने कामको अर्को अध्याय आर्थिक तथा सहकारी क्षेत्रमा कलम चलाउनुहुने पत्रकारलाई पुरस्कृत गर्न सघाउनु रहेको जिकिर उहाँले गर्नुभयो । उहाँले पुरस्कारको घोषणासँगै आर्थिक पत्रकारलाई आर्थिक घटनाक्रम तथा विषयवस्तुलाई सबल, निष्पक्ष, खोजमुलक, प्रभावकारी तथा तार्किक निचोड दिँदै आर्थिक समृद्धिमा टेवा पु¥याउन हौसला मिल्ने दाबी गर्नुभयो ।

“पुरस्कारलाई साथ दिन पाउँदा सहकारी क्षेत्रमा बुबाले गर्न चाहेका तर अधुरै रहेका कामले सार्थकता पाउने विश्वास छ,” उहाँले भन्नुभयो, “आर्थिक तथा सहकारी बिटमा पत्रकारिता गर्नुहुने साथीहरुले भरतमोहन अधिकारीको नाममा पुरस्कार प्रदान गर्ने मौका पाउँदै अत्यन्तै खुसी मिलेको छ ।”

सो अवसरमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले पत्रकारितालाई प्रतिस्पर्धी बनाउन तथा खोजमुलक पत्रकारिता प्रबद्र्धन गर्न पुरस्कारले ठूलो भुमिका खेल्ने उल्लेख गर्नुभयो । स्वर्गीय अधिकारीको सम्झना गर्दै उहाँले समाचारको गुणस्तर र पत्रकारहरुको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यस्ता पुरस्कारको  महत्व रहेको पनि बताउनुभयो ।

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।