विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ : अर्थमन्त्री शर्मा

अर्थबिट २०७९-०८-२२ ०८:३३:०० बजे

काठमाण्डौ।अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताउनुभएको छ । 

आज यहाँ आयोजित फिन इलेक्ट्रो टेक-२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताउनुभयो । उहाँले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताउनुभयो । 

उहाँले पछिल्लो समय कोरोना महामारी र रसिया–युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताउनुभयो । उहाँले विद्युत् बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्नेमा जोड दिनुभयो । 

“विद्युत् बेच्नु पर्दैन अब विद्युत् बेच्ने जमाना गए, स्वदेशमै विद्युत्को खपत बढाउनुपर्छ”, उहाँले भन्नुभयो । 

कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा विद्युत् खपत बढ्दै जाँदा विद्युत्सम्बन्धी सामग्रीको बजार पनि बढ्ने बताउनुभयो । भोलिका दिनमा १५ हजार मेगावाट विद्युत् खपत गर्न सकियो भने विद्युतीय सामग्रीसम्बन्धित बजारको पनि सुनिश्चितता हुने उहाँको भनाइ छ । 

“बर्खायाममा विद्युत् निर्यात हुनु हाम्रो सफलता होइन, विद्युत् खपतबाटै समृद्धि हुन्छ । तर खपत नभएको विद्युत् खेर फाल्नुभन्दा निर्यात गर्नुपर्छ”, उहाँले भन्नुभयो । 

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् उत्पादन गर्ने कम्पनीहरूले यस क्षेत्रमा गरेको अर्बौ लगानी बचाउन सरकारसँग आग्रह गर्नुभयो । “पूर्वाधारको अभावमा विद्युत् प्रयोग गर्न सकिएको छैन । अर्बौँ लगानीका आयोजनाको पिपिए हुनसकेको छैन”, उहाँले भन्नुभयो । 

‘नेपालको समृद्धि, ऊर्जा खपत अभिवृद्धि’ नारासहित फिन इलेक्ट्रो टेक २०२२ प्रदर्शनी आजदेखि सुरु भएको हो । प्रदर्शनी मङ्सिर २५ गतेसम्म चल्नेछ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।