अपर अरुण आयोजना मुआब्जा वितरण सुरु

अर्थबिट २०७९-०९-१६ ०५:१४:०० बजे

काठमाण्डौ।सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको अपर अरुण आयोजनाको प्रभावित क्षेत्रका स्थानीयलाई मुआब्जा गर्न सुरु गरिएको छ ।

अप्पर अरुण आयोजनाले भोटखोला गाउँपालिका–२, ४ र ५ साबिक चेपुवा, हटिया तथा पावाखोलाका आयोजना प्रभावित स्थानीयलाई मुआब्जा वितरण गर्न सुरु गरिएको अप्पर अरुण आयोजनाका वरिष्ठ सहायक गृष्म भण्डारीले जानकारी दिनुभयो । 

अप्पर अरुण आयोजनाका लागि भोटखोलामा दुई हजार पाँच सय रोपनी जग्गा अधिग्रहण गरिएको छ । एक हजार ६१ मेगावाट जलविद्युत् उत्पादन क्षमताको अप्पर अरुण आयोजना नेपाल सरकारले नै बनाउने गरी निर्माण अघि बढाइएको छ । आयोजनाले प्रभावित क्षेत्रका तीन सय ३५ घरपरिवारलाई मुआब्जा वितरण गरिने आयोजनाका वरिष्ठ सहायक भण्डारीले बताउनुभयो । उहाँका अनुसार हालसम्म भोटखोला–२ हटियाका १५ घरपरिवारलाई करिब रु साढे चार करोड मुआब्जा वितरण गरिसकिएको छ । 

उत्तर दक्षिण कोसी राजमार्गले छोएको तथा बस्ती रहेको हटिया–६ को जमिन प्रतिरोपनी रु १५ लाख मुआब्जा निर्धारण गरिएको छ । कोसी राजमार्गले छोएको तर बस्ती नभएका हटिया–६ को जग्गा प्रतिरोपनी रु १० लाख निर्धारण गरिएको छ । जग्गा प्राप्ति ऐन २०३४ को दफा १३ बमोजिम मुआब्जा निर्धारण समितिको बैठकले सो मूल्य निर्धारण गरेको हो ।

त्यस्तै हटिया–८, ९ र चेपुवा–१ को अलँैची बालीसहितको जग्गा प्रतिरोपनी रु नौ लाख ५० हजार र चेपुवा–१, हटिया–८ तथा ९, पावाखोला–३ का अलैँची बाली नभएको पाखा बारीको प्रतिरोपनी रु सात लाख कायम गरिएको थियो । 

आयोजना निर्माणको कार्य दुई वर्षपछिदेखि सुरु हुने भएको छ । आयोजनाको सम्पूर्ण संरचना भोटखोलाको वडा नं २ र ४ मा हुनेछ । सरकारको स्वामित्व रहेको अपर अरुण हाइड्रो इलेक्ट्रिक लिमिटेडले उक्त जलविद्युत् आयोजना बनाउन लागेको हो । 

जलविद्युत् आयोजनाको अनुमानित लागत रु दुई खर्बभन्दा बढी छ । सन् २०२४ को मध्यदेखि जलविद्युत् आयोजनाको निर्माण सुरु हुनेछ । हाइड्रोपावर निर्माण सुरु भएको छ वर्षभित्रमा सम्पन्न गर्ने योजना छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।