भारतीय सहयोगका आयोजनालाई गति दिन उपप्रधानमन्त्री श्रेष्ठको आग्रह

अर्थबिट २०७९-१०-०९ ०२:०२:०० बजे

काठमाण्डौ।नेपालमा भारतीय सहयोगमा सञ्चालित आयोजनाको प्रगति र समस्यालगायतका विषयमा उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले भारतीय अधिकारीसँग छलफल गर्नुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपप्रधानमन्त्री श्रेष्ठसँग शिष्टाचार भेटका लागि पुग्नुभएका भारतीय विदेश मन्त्रालका अतिरिक्त सचिव प्रभात कुमारलगायतका अधिकारीलाई भौतिक पूर्वाधारका आयोजनालाई शीघ्र अगाडि बढाउन उहाँले आग्रह गर्नुभयो । भारतीय सहयोगमा सञ्चालित जनकपुर– जयनगर रेलमार्ग, भारतीय आयात निर्यात (एक्जिम) बैंकको ऋण सहयोगमा अगाडि बढेका आयोजनालगायतका बारेमा उपप्रधानमन्त्री श्रेष्ठले आवश्यक चासो राख्दै सहजीकरणका लागि भारतीय सचिवलाई आग्रह गर्नुभएको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभयो ।

“शिष्टाचार भेटवार्ता भएकाले मिहिन तरिकाले आयोजनाका समग्र पाटा र पक्षका बारेमा छलफल त भएन, तर समस्या समाधान गर्ने तथा शीघ्र आयोजना सम्पन्न गर्ने विषयमा महत्वपूर्ण छलफल भएको छ”, सचिव शर्माले भन्नुभयो । यस्तै, काठमाडौँ– रक्सौल रेलमार्ग तथा अन्य परियोजनाका बारेमा महत्वपूर्ण छलफल भएको उहाँको भनाइ छ । सो रेलमार्गको विस्तृत डिजाइनको काम भइरहेको छ । छलफल निरन्तर अगाडि बढाउने र परियोजनामा देखिएका समस्या समाधानका लागि सबै उपायको खोजी गर्ने विषयमा त्यस अवसरमा महत्वपूर्ण विचार आदानप्रदान भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।