तारकेश्वरमा उच्च क्षमताको सवस्टेशन बनाउँदै प्राधिकरण

अर्थबिट २०७९-१०-११ ०२:४८:०० बजे

काठमाण्डौ।काठमाण्डौ उपत्यकाको विद्युत् वितरण प्रणालीलाई व्यवस्थित बनाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाण्डौको तारकेश्वर नगरपालिकामा उच्च क्षमताको सवस्टेशन निर्माण गर्ने भएको छ । नियमितरूपमा उच्च भोल्टेजको बिजुली आपूर्ति गर्न तथा आकस्मिकरूपमा हुने विद्युत् विच्छेदजस्ता अवरोधसमेत न्यूनीकरण गर्न उक्त सवस्टेशन निर्माण गर्न लागिएको हो । 

प्राधिकरणले आगामी ३० वर्षसम्म काठमाण्डौ उपत्यकाभित्र बिजुलीको माग सहजपूर्वक सम्बोधन गर्ने तयारी गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले त्यसका लागि काठमाडौँमा ‘रिङ सर्किट’ निर्माण गर्ने बताउनुभएको छ । 

यस्तै नदी किनारै किनार एक सय ३२ केभी क्षमताका प्रसारण लाइन बनाइने उहाँको भनाइ छ । उपत्यकाका तीन जिल्ला र काभ्रेपलान्चोकमा समेत भरपर्दो र गुणस्तरीय बिजुली प्रवाहका लागि नयाँ सवस्टेशन निर्माण गर्न लागिएको हो । प्रसारण पूर्वाधार तथा सवस्टेशनको अभावमा काठमाडौँमा बाध्यकारीरुपमा लोडसेडिङ हुनसक्ने अवस्था सिर्जना भएको प्राधिकरणको भनाइ छ । 

उपत्यकाभित्र कूल ६६ केभीदेखि दुई सय २० केभी क्षमताका प्रसारण लाइन तथा सवस्टेशन निर्माण गर्नुपर्ने भएकाले विद्यमान प्रसारण लाइन तथा सवस्टशेनको संरचनागत सुधार, स्तरोन्नति एवम् विस्तार गर्ने तयारी पनि तीव्र गतिमा अगाडि बढाइएको हो । 

सोही क्रममा साविकको जितपुरफेदी गाविसको वडा नं ५ र गोलढुङ्गा गाविसको ३ मा २२०/१३२/६६/११ केभी क्षमताको सवस्टेशन निर्माण गर्न लागिएको छ ।सो सवस्टेशन निर्माणका लागि आवश्यक पर्ने जग्गा प्राप्तिका लागि प्राधिकरणले आज सूचना प्रकाशित गरेको छ । जग्गा प्राप्ति ऐन, २०३४ को दफा ९ अनुसार कूल ६१ परिवारको जग्गा अधिग्रहण गर्नुपर्ने प्राधिकरणको सूचनामा उल्लेख छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।