तल्लो सेती जलविद्युत् आयोजनाको निर्माणकार्य २०८१ बाट सुरु गर्ने तयारी

अर्थबिट २०७९-१२-१० ०३:५९:०० बजे

दमौली।तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको तल्लो सेती जलविद्युत् आयोजनाको निर्माणकार्य विसं २०८१ बाट सुरु गर्ने तयारी गरिएको छ । यस कम्पनीले तनहुँको ऋषिङ गाउँपालिका–१ मा एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

तनहुँ जलविद्युत् आयोजनाको एक सय ४० मिटर अग्लो कङ्क्रिट बाँधबाट प्राप्त हुने सेती नदीको रेगुलेटेड प्रवाह तथा मादी नदीको थप प्रवाहसमेत प्रयोग गर्न तल्लो तटीय क्षेत्रमा तल्लो सेती जलविद्युत् आयोजना निर्माण गर्न लागिएको हो ।

एक सय चार मेगावाट क्षमताको तल्लो सेती जलविद्युत् आयोजनाका लागि ढिलोमा विसं २०८१ सम्ममा बोलपत्र आह्वान गर्ने तयारीका साथ काम अगाडि बढेको तनहुँ हाइड्रोपावर लिमिटेडका इञ्जीनियरिङ तथा प्राविधिक महाशाखा प्रमुख एवं प्रस्तावित तल्लो सेती जलविद्युत् आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।

तल्लो सेती जलविद्युत् आयोजना निर्माणका लागि विस्तृत अध्ययन सकिएको छ । आयोजनाले विज्ञ समूह नियुक्त गरी काम अगाडि बढाएको थियो । परामर्शदाताले पेस गरेको विस्तृत डिजाइन प्रतिवेदन पुनरावलोकनका लागि नियुक्त तीन सदस्यीय अन्तर्राष्ट्रिय विज्ञ समूहले विसं २०७८ असार २३ गते डिजाइन पुनरावलोकन प्रतिवेदन बुझाइसकेको छ । विज्ञ समूहले पेस गरेको आयोजनाको डिजाइनबमोजिम थप केही काम गर्ने तयारी गरिएको छ । 

“विज्ञ समूहले सुझाव दिएअनुसार केही काम अगाडि बढाउन खोजिएको छ, वातावरणीय प्रारम्भिक मूल्याङ्कनको काम पनि सकिएको छ”, भण्डारीले भन्नुभयो । आगामी आर्थिक वर्षमा उक्त क्षेत्रमा केही पूर्वाधार निर्माणको काम सुरु हुनेछ । भवन बनाउने, बाटो बनाउने, पुल बनाउने काम आगामी आर्थिक वर्षमा नै सुरु गर्ने तयारी गरिएको भण्डारीले बताउनुभयो । 

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तल्लो सेती जलविद्युत् आयोजनाको क्षेत्र निरीक्षण गरी काम अगाडि बढाउने तयारीसहित लाग्न निर्देशन दिइसक्नुभएको छ । 

कम्पनीले आयोजनाको विद्युत् उत्पादनको सर्वेक्षण अनुमति प्राप्त गरिसकेको छ । साथै दातृ निकाय एसियाली विकास बैंक (एडिबी)बाट प्राप्त करिब ३ दशमलव ५ मिलियन अमेरिकी डलर अनुदान सहयोगबाट आयोजनाको विस्तृत इञ्जीनियरिङ डिजाइन तथा बोलपत्रसम्बन्धी काजगात तयार गर्ने परामर्श सेवा खरिदका लागि वाप्कोस भारत÷निप्पन कोई जापान जेभीसँग विसं २०७५ चैत २९ गते खरिद सम्झौता भएको थियो । 

आयोजनाअन्तर्गत बन्दीपुर गाउँपालिका–६ र देवघाट गाउँपालिका–३ साराङघाट नजिकै रहेको सेती नदीमा ३२ मिटर अग्लो बाँध निर्माण गरिनेछ । पानीको प्रवाहलाई देवघाट गाउँपालिका–३ र ४ हुँदै ६ दशमलव ८ किलोमिटर लामो सुरुङमार्फत सेती नदीको सङ्गमबाट करिब पाँच सय मिटर तल्लो तटीय क्षेत्रमा पर्ने देवघाटस्थित कालीगण्डकी नदीको दायाँ किनारमा बन्ने अर्धभूमिगत विद्युत्गृहमा खसाली विद्युत् उत्पादन गर्ने योजना बनाइएको छ । 

आयोजनाबाट बन्दीपुर गाउँपालिका–६, व्यास नगरपालिका–१४, देवघाट गाउँपालिका–२, ३ र ४, आँबुखैरेनी गाउँपालिका–५ र ६, भरतपुर महानगरपालिका–२९ का केही भाग प्रभावित हुनेछ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।