महसुल नतिर्नेको विद्युत् लाइन काटियो

अर्थबिट २०८०-०७-२३ ०९:३३:०० बजे

चितवन । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले एक हजार ७९ सेवाग्राहीको विद्युत् लाइन काटेको छ ।

कात्तिक १२ गतेदेखि कात्तिक २२ गतेसम्म दश दिनमा विद्युत् महसुस बक्यौता रहेका सेवाग्राहीको लाइन काटिएको हो । लाइन काटिएका सेवाग्राहीमध्ये सात सय ६० जनाबाट बक्यौता रकम असुली गरिएको कार्यालयका प्रमुख रामु श्रेष्ठले बताउनुभयो । उनीहरुबाट रु एक करोड ३७ लाख बक्यौता रकम असुली गरिएको छ । उहाँले भन्नुभयो, “प्राधिकरणले ६० दिन कटेका सेवाग्राहीको लाइन काट्ने अभियानअन्तर्गत बक्यौता रकम असुली गरिएको हो ।”

तीन हजार चार सय बढी सेवाग्राहीको ६० दिनभन्दा बढीको बक्यौता रहेको छ । अभियान सुरु भएसँगै एक हजार पाँच सय सेवाग्राहीले लाइन काट्नुभन्दा अघि नै बक्यौता तिरेको श्रेष्ठले जानकारी दिनुभयो । अभियानअन्तर्गत लाइन काट्न थालेपछि बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या घटेको छ । अहिले बक्यौता नतिर्ने सेवाग्राहीको सङ्ख्या नौ सय ८१ मा झरेको प्रमुख श्रेष्ठले बताउनुभयो ।

मिटर रिडिङ्को समयले ४० दिनसम्म पनि विद्युत् महसुल नबुझाउँदा थप २५ प्रतिशत दस्तुर लाग्ने उहाँले जानकारी दिनुभयो । प्रमुख श्रेष्ठले भन्नुभयो, “मिटर रिडिङ गरेको एक साताभित्र विद्युत् महसुल बुझाएमा दुई प्रतिशत छुट पाइन्छ ।” सुरुआती दिनमा धेरै रकम बक्यौता भएका सेवाग्राहीको लाइन काटिएको भए पनि विस्तारै बक्यौता नतिर्ने सबैको लाइन काटिने कार्यालयका इन्जिनियर राजेन्द्र पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “लाइन काट्ने अभिायनलाई तीव्र बनाइँदै लगिने छ ।” 

लाइन काटेको छ महिनासम्म पनि महसुल नबुझाउने सेवाग्राहीलाई कालोसूचीमा राखी असुली प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो । तिहारपछि लाइन काट्ने प्रक्रियालाई अझै तीव्ररुपमा अघि बढाउने प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।