झापा इनर्जीले सौर्य ऊर्जाबाट उत्पादन गर्यो आठ लाख युनिट विद्युत्

अर्थबिट २०८०-१०-१९ १२:०३:०० बजे

झापा ।  झापाको शिवसताक्षी–४ स्थित झापा इनर्जीले आठ लाख युनिट विद्युत् उत्पादन गरेको छ । निर्माण सम्पन्न भएपछि सौर्य ऊर्जा उत्पादन थालेको झापा इनर्जीले ३५ दिनको अवधिमा आठ लाख युनिट विद्युत् उत्पादन गरेको हो । 

कोशी प्रदेशको ठूलो सौर्य ऊर्जा परियोजना मानिएको उक्त परियोजनाको पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यही माघ १३ गते उद्घाटन गर्ने कार्यक्रम रहेको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी इनर्जीका सञ्चालक सुवास भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार परियोजनाबाट उत्पादित विद्युत् मेन ग्रीडमा जडान भइसकेको छ ।

हालसम्म परियोजनामा करिब ८७ करोड खर्च भएको भट्टराईले बताउनुभयो । ऊर्जा उत्पादनतर्फका काम सकेर सौन्दर्यकरणको काम भइरहेको परियोजना कार्यालयले जनाएको छ । सौर्य ऊर्जा उत्पादनसँगै पर्यटनसँग जोड्ने उद्देश्यले काम थालिएको झापा क्षेत्र नं ४ का  सांसद एलपी साँवाले बताउनुभयो । 

परियोजना र प्राधिकरणबीच विसं २०७८ मङ्सिर १२ गते विद्युत् खरिद, बिक्रीका विषयमा सम्झौता भइसकेको छ भने उत्पादित विद्युत्को मूल्य हाल प्रतियुनिट रू ७.३० कायम गरिएको छ । 

मुलुकलाई ऊर्जामा आत्मनिर्भर बनाउन निजी क्षेत्रको प्रयासका रुपमा सुरु भएको परियोजनाको शिलान्यास विसं २०७८ मा तत्कालीन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले गर्नुभएको थियो । 

नेपाल विद्युत प्राधिकरण दमकका प्रमुख परितोष चौधरीले परियोजनाबाट हाल छ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिनुभयो । उहाँले जाडो मौसममा कम उत्पादन भए पनि मौसम सफा भएपछि १० मेगावाट विद्युत् उत्पादन हुने जानकारी दिनुभयो । विद्युत् उत्पादनसँगै भोल्टेजको समस्यासमेत समाधान हुने उहाँको भनाइ थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।