दमकले प्राधिकरणसँग विद्युत् पोल उपयोग गरेबापत भाडा असुल्ने

अर्थबिट २०८०-१०-२९ १२:५१:०० बजे

झापा । दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखेबापतको भाडा लिने भएको छ । प्राधिकरणले विद्युत् महसुलको बक्यौता असुल्न गर्न  ताकेता गरेपछि नगरपालिकाल सो निर्णय गरेको हो ।  नगरपालिकाले नगरभित्र गाडिएका विद्युत् पोल र विद्युत् ट्रान्सफर्मर  वापत प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय लिएको हो । नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ ।

नगरपालिकाको गत माघ ९ मा बसेको कार्यपालिका बैठकमा नगरपालिकाको नाममा यसअघि जडान भएका कूल एक सय ७०  विद्युत् मिटरमा उठेको महसुल वापतको बक्यौता रु छ करोड ९३ लाख ६१ हजार तिर्न विद्युत् प्राधिकरण दमक वितरण केन्द्रले गरेको पत्राचारबारे छलफलसमेत भएको जनाइएको छ । 

नगर प्रमुख रामकुमार थापाले छलफलपछि कार्यपालिका बैठकले यसअघि नगरपालिकाले विभिन्न टोलमा जडान गर्न लगाएका सडक बत्तीबापतको विद्युत् महसुलका कारण नगरपालिकाका नाममा विद्युत् महसुलको बक्यौता देखिएको ठहर गरेको बताउनुभयो । अब उप्रान्त कुनै पनि टोलमा नगरपालिकाका नाममा विद्युत् मिटर राख्न अनुमति वा सिफारिस नदिने र त्यसरी सडक बत्ती जडान तथा मर्मत एकपटकका लागि मात्रै नगरपालिकाले गर्ने र सोपछि भने सम्बन्धित टोल विकास संस्थाले आफैंले ब्यहोरर्ने गर्नुपर्ने गरी मात्रै सिफारिस दिने पनि बैठकले निर्णय लिएको उहाँले जानकारी दिनुभयो ।

त्यसैगरी नगरपालिकाले वडा नं ६ स्थित नगरपालिकाको स्वामित्वमा रहेका पसल क्लबको सम्झौतामा उल्लेख भएअनुसार व्यवसायीले नियमितरुपमा तिर्नुपर्ने भाडाको बक्यौता हालसम्म रु ४४ लाख रहेकाले सोको असुलीका लागि टोली खटाउने पनि निर्णय गरेको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।