काठमाण्डौ । केन्द्रीय निक्षेप प्रणाली सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड(सिडिएससी)ले मेरो शेयर पोर्टलमार्फत् एकै व्यक्तिका नाउँमा खोलिएका डिम्याट खाताबाट सोही व्यक्तिको अर्को डिम्याट खातामा अनलाइनमार्फत् शेयर ट्रान्सफर (बीओ टू बीओ) हुने भएको छ ।
सिडिएससीले मेरो शेयर पोर्टलमा फिचर्स थप गरी अनलाइनबाटै एकै व्यक्तिका नाउँमा खोलिएका डिम्याट खाताबाट सोही व्यक्तिको (अर्को डिम्याट खातामा शेयर ट्रान्सफर हुने भएको हो ।
हाल एकै व्यक्तिको एउटा डिम्याट खाता र सोही व्यक्तिको अर्को डिम्याट खाताबीच अनलाइनबाटै शेयर ट्रान्सफर गर्ने सुविधा थप गर्न लागिएको सिडिएससीको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । शेयर ट्रान्सफरका लागि प्रति अनुरोध रु.१००(पुरानै शुल्क) सेवा शुल्क तिर्नुपर्ने उनले बताए । शेयर ट्रान्सफरका लागि भने विभिन्न अनलाइन भुक्तानीका साधनहरु प्रयोग हुनेछ । वालेट,बैंक खाता,क्यूआर कोड,फोनपे आदि माध्यमद्वारा सहजै सेवा शुल्क भुक्तानी गरी उक्त सुविधा लिनसकिने उनको भनाइ छ ।
बीओ टू बीओ सुविधाले शेयर बजारमा कस्तो प्रभाव पर्दछ ?
यो सुविधा लन्च भएपश्चात शेयर बजारमा कुनै पनि असर पर्दैन । बजारवृत्तमा हल्ला गरिएझैं यो सुविधापश्चात् कुनै एकै व्यक्तिले अर्को डिम्याट खाताबाट स्वयंको नाउँमा रहेको शेयर ट्रान्सफर मात्रै गर्न सकिन्छ । यदि कुनै ग्राहकले एउटा ब्रोकरबाट शेयर खरिद गरी अर्को डिम्याटमा शेयर सारेर चलख्याईंका साथ अर्को ब्रोकरमार्फत् शेयर बिक्री गर्ने जोखिम हुन्छ तर ग्राहकले पैसा नतिरी शेयर नै ट्रान्सफर हुँदैन । अर्थात् मध्यस्थकर्ताका रुपमा रहेका ब्रोकरलाई शेयर खरिदबापतको रकम भुक्तानी नभइन्जेलसम्म शेयर उसको नाउँमा ट्रान्सफर नै हुँदैन । यद्यपि यस्तो बठ्याईं लगानीकर्ताबाट हुने सम्भावनामा भने ब्रोकर स्वयंले अनुगमन गर्दै चनाखो हुनुपर्दछ । एकाध ब्रोकरले ग्राहकलाई बिना पैसा पनि अधिक विश्वास गरी शेयर ट्रान्सफर गर्ने चलन पनि छ । कतिपयले बेवास्ता गर्दै शेयर खरिदबापतको भुक्तानी नपाई ब्रोकरको पुल अकाउन्टबाट ग्राहकको खातामा शेयर हस्तान्तरण पनि नभएका भने होइनन् ।
पछिल्लो समयमा उधारो शेयर कारोबारले समेत निकै व्यापकता पाइरहेको छ । पुराना ५० वटा ब्रोकरबाट थपिएर ९३ वटा पुगे तापनि थप भएको सुविधा भनेकै लगानीकर्ताहरुलाई अन्य प्रतिस्पर्धात्मक सुविधाभन्दा पनि उधारो शेयर कारोबार गर्न मात्रै दिईँदैछ । ग्राहकले चलख्याईं गर्दै आफ्नो डिम्याट खातामा उधारो किनिएको शेयर अर्को नयाँ ब्रोकरकोमा गई सहजै उक्त शेयर बिक्री गर्नसक्दछ । उधारो शेयर कारोबारमा पनि बिना पैसा ब्रोकरले शेयर ट्रान्सफर गरिदिएको खण्डमा भने ब्रोकर स्वयं नै ठूलो घाटामा पर्न सक्छ । यसैकारण ब्रोकरलाई यो व्यवस्था थप टाउको दुखाईको विषय पनि बन्न पुगेको छ ।
अन्ततोगत्वा भन्नुपर्दा पैसा नदिई शेयर ट्रान्सफर नै हुँदैन । यदि भुक्तानी बिनै ब्रोकरले शेयर हस्तान्तरण गरेमा भने लगानीकर्तालाई फाइदा र ब्रोकरलाई घाटा हुनेछ ।