काठमाण्डौ । सूचीकृत कम्पनीहरुले आर्जन गरेको मुनाफाबाट वितरण गर्ने लाभांशसम्बन्धी निर्णयको जानकारी नेपाल स्टक एक्सचेञ्जलाई दिन नपर्ने भएको छ ।
एक महिनाअघि लाभांशको निर्णय लुकाएर आत्मनिर्भर लघुवित्तले नजिर कायम गरेसँगै यस्तो व्यवस्था हुन लागेको हो । बजार सम्बन्धी अत्यन्तै संवेदनशील सूचना १५ प्रतिशत लाभांशको जानकारीकै कारणले सो कम्पनीको शेयरमूल्य समेत दोस्रो बजारमा लगातार बढिरहेको छ । लाभांशसम्बन्धी महत्वपूर्ण सूचना लुकाउन पाउने भएपछि कम्पनीको शेयरमा समेत चलखेल गर्न सहज भएको छ। भित्री सूचना लुकाएर यस्तो धन्धा हुँदासमेत नियामकीय निकायहरु मौन हुनु संस्थागत सुशासन र पारदर्शिता नहुनु नै भएको बुझिन्छ ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत लाभांशको सूचना १ महिनापछि मात्रै दिने अनुपालना भएसँगै बजार सञ्चालक नेप्सेलाई सोसम्बन्धी जानकारी दिन नपर्ने भएको हो । उक्त लघुवित्तले नेप्सेलाई लाभांशको निर्णय सम्बन्धी जानकारी नदिई सोझै राष्ट्र बैंकलाई दिएको थियो । तदनरुप राष्ट्र बैंकले गत मंसिर ७ गते १५ प्रतिशत लाभांश स्वीकृत गरेपछि मात्रै सो सूचना आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाले नेप्सेलाई गएको मंसिर ८ गते दिएको थियो ।
आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका सीइओ शोगात वीर चौधरीका अनुसार गत मंसिर ३० गते १५ प्रतिशत लाभांश को निर्णय नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पठाईयो । तत्पश्चात राष्ट्र बैंकले गत पुस ७ गते १५ प्रतिशत लाभांश स्वीकृत समेत गरेको उनले बताए । राष्ट्र बैंकबाट स्वीकृत भइसकेपछि मात्रै लाभांशसम्बन्धी सूचना नेप्सेलाई पठाइएको उनको भनाइ छ । सोही दिन कम्पनीको सञ्चालक समितिको बैठक बसी वार्षिक साधारणसभा प्रयोजनार्थ आज पुस १६ गते बुक क्लोज मिति तय गर्ने निर्णय भएको जानकारी दिए । त्यसको भोलिपल्ट अर्थात् पुस ८ गते कारोबार भइरहेको समयमा सो सूचना पठाएको हुनाले नेप्सेले कारोबारसमेत रोक्यो तर त्यसैको भोलिपल्ट नै सो कम्पनीको कारोबार खुल्यो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ अनुसार सञ्चालक समितिको बैठकले कम्पनीको लाभांशसम्बन्धी प्रस्तावको सूचना नेप्सेलाई समेत पठाउनुपर्दछ । तर आत्मनिर्भर लघुवित्तले भने राष्ट्र बैंकबाट स्वीकृत भइसकेपछि मात्रै १५ प्रतिशत लाभांश र वार्षिक साधारणसभाको सूचना पठायो । यसै पनि कम्पनीको शेयर आपूर्ति कम र १५ प्रतिशत आकर्षक लाभांश पनि भएपछि भित्री सूचना लुकाइएको स्पष्ट छ ।
धितोपत्र सूचीकरण विनियमावली,२०७५ को परिच्छेद ६ मा सूचना तथा जानकारी प्रवाहसम्बन्धी व्यवस्था छ । धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना,जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअघि त्यस्तो सूचना, जानकारी तथा निर्णय सम्बन्धित सूचीकृत संगठित संस्थाको वेभसाइटमार्फत् समेत सार्वजनिक गर्नुपर्ने हुन्छ । त्यस्तै नगद लाभांश,बोनस शेयर,हकप्रद शेयर वा थप शेयर निष्काशनसम्बन्धी निर्णय भएमा सो निर्णय हुनेवित्तिकै सञ्चालक समितिको बैठक बसेको समयसमेत उल्लेख गरी उपलब्ध गराउनुपर्ने विनियम २२(ङ)मा प्रावधान रहेको छ ।

कुल १५ प्रतिशत लाभांशको निर्णय लुकाउँदै आत्मनिर्भर लघुवित्तले राष्ट्र बैंकबाट स्वीकृत भइसकेपछि मात्रै सो निर्णय नेप्सेलाई जानकारी गराउँदासमेत कार्वाहीका लागि उदासीन बनिरहेको छ । कारोबार सत्रमा लाभांशको स्वीकृति आएपछि नेप्सेले कारोबार रोक्का गरेपछि फुकुवासमेत गरिसकेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए । तर गएको मंसिरमा उक्त लघुवित्तले १५ प्रतिशत लाभांशसम्बन्धी निर्णय गर्दा १ महिनापछि मात्रै सो विषयमा भने समर्थन दिएको देखिन्छ । यसबाट अबदेखि सूचीकृत कम्पनीले लाभांशको निर्णय जहिले दिए पनि हुने नजिर स्थापित बनेको छ ।
यो पनि पढ्नुस् : आत्मनिर्भर लघुवित्तमा खुलेआम इन्साइडर ट्रेडिङ्ग, कार्वाही गर्दै नेप्से