पूर्ण विद्युतीकरण घोषणाको तयारीमा मधेस प्रदेश

अर्थबिट २०८१-१०-०९ ११:३२:०० बजे

काठमाण्डौ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेशका प्रमुुख शम्भु कुसियतले प्रदेशका सबै टोलबस्तीमा विद्युत्् सेवा पुगेसँगै मधेस प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गरिएको बताउनुभएको छ ।  मंगलबार  सप्तरीको सुरूङ्गा नगरपालिकास्थित लक्ष्मीपुरमा ‘लक्ष्मीपुर–सुरूङ्गा फ्यृज सेवा तथा महसुल सङ्कलन काउण्टर’को उद्घाटन गर्दै प्रादेशिक प्रमुख कुसियतले यस्तो बताउनुभयो । 

“अहिले हामीले ९९ प्रतिशतभन्दा बढी क्षेत्रमा विद्युतीकरण गरिसकेका छौँ”, प्रादेशिक प्रमुख कुसियतले भन्नुभयो, “अब चाँडै नै प्रदेशलाई पूर्ण विद्युतीकरण प्रदेश घोषणा गर्ने तयारी गर्दै छौँ ।” उहाँका अनुसार प्रदेशको पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सप्तरी जिल्लामा पूर्ण विद्युतीकरण भइसकेको छ भने सिरहा जिल्लाको धनगढीमाई, मिर्चैया नगरपालिकालगायत केही क्षेत्रमा विस्तारको काम भइरहेकाले पूर्ण विद्युतीकरण घोषणा गर्न केही ढिला हुन गएको जानकारी दिनुभयो । 

नेपाल विद्युत् प्राधिकरण बोदेबरसाईन वितरण केन्द्रका प्रमुख सन्योक विश्वकर्माले लक्ष्मीपुर–सुरूङ्गा फ्युज सेवा तथा महसुल सङ्कलन काउण्टर आजदेखि सञ्चालनमा आएसँगै स्थानीय सेवाग्राहीलाई घर नजिकबाट सेवा प्राप्त गर्न सहज भएको बताउनुभयो ।

सुरूङ्गा नगरपालिका–३ को वडा कार्यालयसँगै जोडिएको नवउद्घाटित फ्युज सेवा तथा विद्युत् महसुल सङ्कलन काउण्टर भवन नगरपालिकाले उपलब्ध गराएको हो । यस विद्युत् केन्द्रबाट १० हजार सेवाग्राही लाभान्वित हुने वडाध्यक्ष किरणकुमार पोखरेलले बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।