काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससी) ले म्युचुअल फण्डको इकाई निष्कासनमा प्रयोग गर्दै आइरहेको शब्दले सर्वसाधारणमा भ्रम पैदा भएको छ ।
म्युचुअल फण्डले सर्वसाधारणलाई इकाईहरु बिक्री गरी बृहत कोष बनाउने गर्दछ । जसलाई एनएफओ ( न्यू फण्ड अफर ) भनिन्छ । सिडिएससीले भने आफ्नो वेबसाइट र मेरो शेयर पोर्टलमा भने म्युचुअल फण्डलाई समेत आइपीओ ( इनिसियल पब्लिक अफरिङ्ग ) शब्द नै राख्नाले सर्वसाधारणमा भ्रम पैदा भएको हो ।
प्राथमिक बजारमा गरेको आइपीओको लगानी १० देखि २० गुणासम्म रिटर्न भइरहेको छ । तर एक अध्ययन अनुसार सर्वसाधारण भने म्युचुअल फण्ड पनि आइपीओ नै रहेछ भन्दै खुरुखुरु लगानी गरिरहेको भेटिएको छ । तर आइपीओ र एनएफओ बिल्कुल फरक हुन् । दुवै बीच आकाश जमिनको भिन्नता छ । प्राथमिक बजारमा म्युचुअल फण्डको अंकित मूल्य रु.१० पर्दछ र सोही मूल्यमा सर्वसाधारणले खरिद गर्दछन् । तर सोझासीधा सर्वसाधारण भने एनएफओलाई पनि आइपीओ नै सम्झेर भकाभक लगानी गरिरहेका पाइएको छ । सिडिएससीले एनएफओलाई नै आइपीओ भनेर उल्लेख गरेसँगै सर्वसाधारण झुक्किरहेका छन् । १ शब्दले गर्दा आइपीओमा जस्तै मालामाल हुने गलत मानसिकतामा खरिद गरेको आइपीओ वास्ववमा एनएफओ भएको प्रायः धेरैलाई थाहा नै छैन ।
यो पनि पढ्नुस : म्युचुअल फण्डहरुले डुबाएपछि सचेत हुँदै लगानीकर्ता

सिडिएससीले शब्द चयनमा ख्याल नगर्दा प्रायः सर्वसाधारणहरुले म्युचुअल फण्डलाई समेत आइपीओकै धारणा बनाउँदै प्राथमिक बजारमार्फत् लगानी गरिरहेको भेटिएको हो । आइपीओ नै धारणा बनाएका सर्वसाधारण पछि मात्रै म्युचुअल फण्डको एनएफओ भनेपछि हिस्रिक्क हुने गर्दछन् ।
नेपालजस्तो वित्तीय साक्षरता कम भएको मुलुकमा सिडिएससीजस्तो संस्थाले शब्द चयनमा होश नपुर्याएकै कारण सर्वसाधारणको लगानी साक्षरतामा समेत नकारात्मक असर परेको छ । धितोपत्रको केन्द्रीय निक्षेप प्रणाली सम्हालेको सिडिएससीले समेत एनएफओ (न्यू फण्ड अफर ) र आइपीओ (इनिसियल पब्लिक अफरिङ्ग) को भिन्नतासमेत छुट्याउन नसक्दा सर्वसाधारणमा भ्रम पैदा भइरहेको छ ।
भारतलगायत विश्वभरि नै म्युचुअल फण्डलाई एनएफओ अर्थात् न्यू फण्ड अफर भनिन्छ । तर यता वित्तीय शब्दावलीको गलत चयनकै कारण सर्वसाधारण झुक्किने क्रम बढ्दो छ ।
उता नियामक निकाय नेपाल धितोपत्र बोर्डले भने म्युचुअल फण्डलाई अन्य कुनै शब्दले सम्बोधन गरेको पाईंदैन । सिडिएससीले सुरुवातदेखि नै आइपीओ शब्द प्रयोग गरिरहेको छ । यता म्युचुअल फण्डलाई एनएफओका सट्टामा आइपीओ शब्दले आइपीओझैं सबै शेयर बिक्री गराउन म्युचुअल फण्ड सञ्चालकहरुलाई धेरै सहज भएको देखिन्छ ।
अहिले ग्लोबल मनी विकसमेत चलिरहेको छ । सिडिएससी आफैंले समेत विभिन्न कार्यक्रम गर्दै वित्तीय साक्षरता प्रदान गर्ने कोशिस गरेकोमा सही शब्द चयन नगर्दा सोझासीधा सर्वसाधारण म्युचुअल फण्डमा झुक्किने क्रम बढिरहेको छ ।
म्युचुअल फण्डको इकाई निष्कासनलाई एनफओ भनिन्छ । यसअघि हेडलाइन र तस्वीर अन्यथा भएकाले सच्याइएको छ । – सम्पादक