ब्रोकर कम्पनीहरु पनि चरम तरलताको अभावमा,बजार ठूलो दुर्घटनाको संघारमा

अर्थबिट २०७९-०१-०४ ०८:३७:०० बजे

काठमाण्डौ।धितोपत्र कारोबार हुने दोस्रो बजार अत्यन्तै धरापमा परेको छ ।

तरलताको अभावले समग्र अर्थतन्त्र धराशयी बनाइरहेका बेला घट्दो बजारमा लगानीकर्ताहरुले खरिदबापतको सेयर ब्रोकरलाई भुक्तानी नगर्दा दोस्रो बजार धरापमा परेको हो । नयाँ तथा पुराना लगानीकर्ताहरुलाई उधारोमा सेयर कारोबार गर्दा करोडौँ रकम फसेको हो ।  

चौतर्फी तरलताको अभाव झेलिरहेका समयमा पछिल्लो समय दोस्रो बजार क्र्यासको संघारमा पुगेको बताइएको छ । सेयर खरिद गरेपछि लगानीकर्ताहरुले लाखौँ रकम ब्रोकरलाई भुक्तानी नगरेका कारणसमेत बजारमा जुनसुकै बेला दुर्घटना हुने सक्ने बताइन्छ । कतिपय लगानीकर्ताहरुले सेयर खरिद अगावै २५ प्रतिशत पेश्की रकम दिने र ब्रोकरलाई खातामा सेयर हालिदिन आग्रह गरेपछि सम्पर्क विच्छेद गरी अन्य ब्रोकरकहाँ नयाँ डिम्याटमा बीओटू बीओ ट्रान्सफर गरी सेयर बिक्री गर्ने विकृतिसमेत मौलाउँदै गरेको छ । लगानीकर्ताहरुका कारण आर्थिक अभाव चरम संकटमा परेपछि ब्रोकर कम्पनीहरुको बजारमा उठ्न अर्बौँ रकम जोखिममा परेको छ ।

सेयर खरिदबापतको रकम भुक्तानी नगर्ने र बीओ टू बीओ ट्रान्सफर गरी सेयर बिक्री गर्ने फट्याईँ बढ्दै जाँदा ब्रोकर कम्पनीहरुमा समेत चरम तरलताको अभावबाट गुज्रिरहेका छन् । लगानीकर्ताहरु भएको फट्याईँलाई हालसम्म पनि कालोसूचीमा राख्ने व्यवस्था नभएको र कसूरदार ठहराउन नियामक निकायको समेत चासो नहुँदा दोस्रो बजार जुनसुकै बेला क्र्यास हुनसक्ने जानकारहरु बताउँछन् । 

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरी लगानीकर्तालाई जिम्मेवार बनाउँदा वर्तमान ऐन नै संसोधन गर्नुपर्ने दाबी गर्छन् । “बंगलादेशमा सेयर खरिदबापतको भुक्तानी नगरेमा कालोसूचीमा राख्ने व्यवस्था छ । अहिले हाम्रोमा चाहिँ ब्रोकरलाई नै जिम्मेवार बनाएका छौँ ।”,उनले अर्थबिटसँग भने । अब लगानीकर्तालाई पनि जिम्मेवार बनाउनुपर्नेमा उनले जोड दिए । 

नियामक निकायले अग्रिम रकम लिएपछि मात्रै सेयर खरिद गर्न दिइने सुविधा लागू गरेका कारण अहिलेसम्म ब्रोकर कम्पनीबाट यस किसिमको गुनासो नआएको दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का प्रवक्ता मुराहरि पराजुली बताउँछन् । बजारमा जोखिम भने बढिरहेको उनको स्वीकारोक्ति छ । जोखिम न्यूनीकरणका लागि नियमानुसार(शतप्रतिशत रकम अग्रिम भुक्तानी) सेयर कारोबार गर्नुपर्नेमा प्रवक्ता पराउजुलीले सुझाए । 

यता सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका प्रवक्ता सुरेश न्यौपाने पनि यस विषयमा अहिलेसम्म ब्रोकरहरुबाट गुनासो नआएको जिकिर गर्छन् । छिटपुट घटना भने आएको उनको स्वीकारोक्ति छ । यस्ता घटना बढ्दै गएमा फरक तरिकाले सोच्नुपर्नेमा उनले जोड दिए । 

ब्रोकरहरुको छाता संगठन स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सन्तोष मैनाली प्रविधिमा आधारित भइसकेपछि जोखिम व्यवस्थापन अघि बढ्नपर्छ भन्ने मान्यता कायम गर्नुपर्ने र ब्रोकरकैमा डिम्याट खाता खोल्नुपर्नेमा उनले जोड दिए ।शतप्रतिशत धितो रकम राख्ने व्यवस्थालाई कार्यान्वयनमा लैजाँदा लगानीकर्ताका संघहरुले विरोध गरेको अध्यक्ष मैनालीको आरोप छ । नियामक निकायले समेत चासो नदेखाएकै कारण जोखिम धेरै बढेको उनले दाबी गरे । ब्रोकर कम्पनीहरुले पछिल्लो समयमा खराब ऋणमा ठूलो रकम राख्नुपर्ने बाध्यता बढ्दै गइरहेको दाबी गर्दै मैनालीले सम्बन्धित ब्रोकर कम्पनीको स्वीकृति बिना डीपीसमेत परिवर्तन गर्न  नपाउनुपर्ने धारणा राखे । बीओटू बीओ ट्रान्सफरमा मोड्युल र संयन्त्रका विषयमा सिडिएससीसँग समेत पहल भइरहेको उनले सुनाए । 

ब्रोकर कम्पनीहरु दुर्घटनाउन्मुख रहेको र सेयर खरिद गरेका लगानीकर्ताहरुलाई कहीँकतैबाट नियमन नभएकाले समेत बजारमा जोखिम चरम अवस्थामा पुगेको स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष मैनालीको जिकिर छ । बाफियाअन्तर्गत समेत लगानीकर्तालाई कसूरदार ठहराई दण्ड जरिवाना गर्ने व्यवस्थाको पहलका लागि धितोपत्र बोर्डसमक्ष बारम्बार पहल भइरहेको उनले दाबीसमेत गरे । “पछिल्लो तथ्यांकअनुसार सबै ब्रोकर कम्पनीहरुमा ७ अर्ब रुपैयाँ हाराहारी इक्विटी फसेको छ”,उनले अर्थबिटसँग भने,“ब्रोकर कम्पनीहरुहरुको २० देखि ४० प्रतिशत उधारोमा सेयर खरिद भइरहेको छ । औसतमा ४ अर्ब रुपैयाँ अझै पनि ब्रोकर कम्पनीहरुले लगानीकर्ताबाट उठानुपर्ने देखिन्छ ।”

पछिल्लो समय ब्रोकरहरुलाई चरम आर्थिक संकट परेपछि जोखिम बढिरहेको विषयमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकालसँग बुझ्ने प्रयास गर्दा लगानीकर्ता अनुशासित हुनुपर्नेमा जोड दिए । जोखिमलाई व्यवस्थापन  गर्न स्वयं ब्रोकर नै जिम्मेवार हुनुपर्ने ढकालको भनाइ छ ।

उधारोमा सेयर खरिद गर्ने प्रवृत्ति बढिरहेका कारण शतप्रतिशत धितो राखेर सेयर कारोबार गर्दा मात्र जोखिम व्यवस्थापन हुने जानकारहरु बताउँछन् । ब्रोकर्स एसोसिएसनले धितोपत्र बोर्डसँग सहकार्य र समन्वय गरी निकट समयमा हुनसक्ने ठूलो दुर्घटना रोक्नपर्नेमा बैंक इन्टीग्रेसन नै निर्विकल्प उपाय भएको जानकारहरु बताउँछन् । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।