ऊर्जामय बन्दै देश, हिमालयन हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

अर्थबिट २०८०-१२-३० ०८:१२:०० बजे

काठमाडौं । चौथो संस्करणको 'हिमालयन हाइड्रो एक्स्पो, २०२४' को तयारी अन्तिम चरणमा पुगेको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी बैशाख १२, १३ र १४ गते (अप्रिल २४, २५ र २६) हुने एक्स्पोको को तयारी दुई हप्ता अघि नै अन्तिम चरणमा पुगेको हो ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको उद्‍घाटन राष्ट्रपति रामचन्द्र पौडेलबाट गर्ने तयारी भइरहेको छ ।

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । 

नेपाल सरकारले भारतमा १० बर्षमा १० हजार मेगावाट विद्युत दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता गरिसकेको, सन् २०३५ भित्र २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने मार्गचित्र निर्माण भइसकेको तथा तेस्रो लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्वपूर्ण हुने इप्पानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ । 

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रुप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजनाा गरिएको हो । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत बृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका वारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने इप्पानको अपेक्षा छ ।

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय/कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रवुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरुकोबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरुको प्रर्दशनी गर्न झण्डै एक दर्जनभन्दा बढी देशहरुको सहभागीता निश्चित भएको इप्पानले जनाएको छ ।

एक्स्पोमा दिगो, समावेशी, हरित, पहुँचयोग्य र प्रतिफलयुक्त ऊर्जा विकासका विविध आयामसँगै ऊर्जासँग सम्बन्धित स्वदेशी र विदेशी लगानी, पुँजी संकलन र व्यवस्थापन, जनताको सहभागिता, आन्तरिक खपत र विद्युत व्यापार, समृद्धि र सामाजिक विकास, नीति र राजनीतिको प्राथमिकता लगायतका विषयमा ७ वटा प्राविधिक सत्र तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ । 

हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर सम्बन्धी वस्तु तथा सेवाको नयाँ अवधारणाबारे विद्यार्थी एवं व्यक्तिगत तवरवाट आविष्कार गरेका वस्तु तथा सेवाको प्रतिष्पर्धा र युवा पुस्तालाई हाइड्रो सम्बन्धी कार्यमा अभिरुची बढाउन समृद्धिका लागि हरित ऊर्जा विषयगत दुइ मिनेटको भिडियो उत्पादन गर्ने प्रतिष्पर्धा एक्स्पोको आकर्षण बन्नेछन् । यी दुवै विधाका प्रतिष्पर्धाका बिजेताहरुलाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ ।

त्यस्तै गरि विद्युतको आन्तरिक खपत वृद्धिगर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगवारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित एक्स्पोकै दिन बिहान इभी र्‍यालीसमेत आयोजना गरिएको छ । स्काइ वाक टावर कमलादीबाट सुरु हुने उक्त र्‍याली विद्युत प्राधिकरण, सिंहदरबार, शितल निवास, बालुवाटर लगायतका मुख्य मुख्य स्थानहरुहुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना हुने स्थल भृकुटीमण्डपमा समापन हुने छ । र्‍यालीमा विद्युतबाट चल्ने दुई पाँग्रे, तीन पाँग्रे, चार पाँग्रे र छ पाँग्रे इभीहरुलाई निःशुल्करुपमा सहभागी गराइने छ । यसका अलवा काठमाडौं विश्वविद्यालयले तयार पारेको ग्रिन हाइड्रोजन कार र इभी ट्रयाक्टर पनि एक्स्पोको आकर्षण बन्ने इप्पानको अपेक्षा छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।