इन्भेष्टमेन्ट सेक्टरमा ताण्डव : किन चल्दैछ ‘प्राइसवार’ ?

अर्थबिट २०८१-११-१२ १०:२१:०० बजे

काठमाण्डौ । शेयर बजार भनेकै ‘ट्रेण्ड एनालाइसिस’ हो भन्ने पनि धेरैको बुझाइ छ । यसै कारणसमेत भनिएको होला–‘फ्लो विथ ट्रेण्ड’ । केही दिनयता शेयर बजारमा नयाँ खालको ‘ट्रेण्ड’ चलिरहेको छ । अर्थात् उस्तै सेक्टर र व्यवसाय गर्ने कम्पनीहरुको ‘प्राइस वार’ नै चलिरहेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) मा सूचीकृत १३ उपसमूहमध्येको अन्य सेक्टर र इन्भेष्टमेन्ट सेक्टरका स्टकहरुमा प्राइस वार चलिरहेको देखिन्छ । अन्य सेक्टर अन्तर्गतका नेपाल रिइन्स्योरेन्स कम्पनी लि.(एनआरआइसी) र हिमालयन रिइन्स्योरेन्स लि.(एचआरएल) बीच प्राइस वार चलिरहेको हो । 

गत साताको आइतबार एनआरआइसीको मूल्य १ हजार मुनि नै थियो । त्यसपछि भने शेयर मूल्यमा क्रमशः वृद्धि हुँदै हिजो आइतबार ११ सय ५२ रुपैयाँ पुग्यो । त्यस्तै गत साताको आइतबार ९ सय मुनि नै एचआरएलको शेयर किनबेच भइरहेको थियो । त्यसपछि भने कम्पनीको मूल्य क्रमशः बढ्दै हिजो आइतबार ९८२ रुपैयाँ पुग्यो । 

यस्तै इन्भेष्टमेन्ट सेक्टर अन्तर्गतको एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लि.( एनआरएन) को पनि १४ सय हाराहारीमा किनबेच भइरहेको थियो । हिजो आइतबार एनआरएनको १५ सय २३ रुपैयाँ पुग्यो । सिइडिबी होल्डिङ्गस लि.(सिएचडिसी) गत साताको आइतबार २२ सय हाराहारीमा किनबेच भयो तर हिजो आइतबार भने कम्पनीको मूल्य २३ सय पुग्यो । 

यसैबीच इन्भेष्टमेन्ट सेक्टरकै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लि.(निफ्रा)को केही समयअघि २५० हाराहारीमा किनबेच भइरहेको निफ्रा गत आइतबार २८० हाराहारीमा किनबेच भयो तर हिजो आइतबार पनि सो कम्पनी २८० पुग्यो ।  यता हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडिसीएल) २७० आसपास किनबेच भइरहेकोमा हिजो आइतबार भने २८३ पुग्दै २७४ कायम हुन पुग्यो ।  

आखिर किन त प्राइस वार ?

एचआइडिसीएलमा विगत लामो समयदेखि अकुमुलेसन चलिरहेको थियो । गत अक्टुबरदेखि चलिरहेको अकुमुलेसनमा केही दिनयता कम्पनी चलायमान हुन थालेको हो । निफ्रा र एचआइडिसीएलजस्ता स्टकहरुमा लामो समयदेखि भारी मात्रामा अकुमुलेसन भइरहेको थियो ।

बन्दमुखी म्युचुअल फण्ड र सिस्टम्याटिक इन्भेष्टमेन्ट प्लान(एसआईपी) बाट लगानीकर्ताहरु निस्केर सो पैसा निफ्रा र एचआइडिसीएलजस्ता सस्ता स्टकहरुमा लगानी गरिरहेको देखिन्छ । म्युचुअल फण्डको लगानी भन्दा सस्ता स्टकहरुमा लगानी गरे केही लामो समयसम्म होल्ड गरे राम्रै मुनाफा कमाउने आशामा लगानी यता ओइरहेका छन् । दीर्घकालमा यिनै स्टक ७०० रुपैयाँसम्म बिक्री गर्ने उद्देश्यले थोरै थोरै खरिद बढाइरहेका लगानीकर्ताको आकर्षण बढिरहेको पाइएको हो ।

मुद्दती खातामा भन्दा स्टकमा गरिएको लगानीको प्रतिफलसँग दाँजेर पनि फण्डामेन्टर हाइक्याप स्टकमा लगानी भइरहेको छ ।

यसैबीच एचआरएलमा पनि मारवाडी समुदाय तथा बजारका राम्रा खेलाडीहरुको ठूलो होल्डिङ्ग भएकै कारण आपूर्तिभन्दा माग बढी भएकाले मूल्य उचालिएको बताइन्छ । उसो त एचआरएलको ८० प्रतिशत हकप्रद पनि बजारको लागि अर्को फण्डा हो । वास्तवमा एचआरएलकै प्रतिष्पर्धामा एनआरइसी पनि उकालो लागिरहेको देखिन्छ । एनआरआइसीमा केही करेक्सन आउन सकेपनि एचआरएल भने अपट्रेण्ड नै जाने सम्भावना प्रबल देखिन्छ । 

प्राविधिक पक्ष कत्तिको मजबुत छ ?

हिजो आइतबार इन्भेष्टमेन्ट सेक्टरले ठ्याक्कै ब्रेकआउट दिएको छ । इन्भेष्टमेन्ट सेक्टरको उपसूचक १ सय १० दशमलव तीन शून्य विन्दूमा ब्रेकआउट दिएसँगै बजारमा लगानीकर्ताहरुको मनोबल र मनोविज्ञान सकारात्मक रहेको देखिन्छ ।

हिजो १.२३ अर्ब रुपैयाँ कारोबार भएको इन्भेष्टमेन्ट सेक्टरको सूचक १ सय ११ दशमलव एक नौ विन्दू कायम हुन पुगेको छ । उपसूचक माथि जाँदै गर्दा मुभमेन्ट केही सुस्त देखिए तापनि सेलरले सप्लाई दिइरहेको अनि बायरले पनि किनिरहेको पाइएको छ । यसको मतलब मूल्य चाहिँ होल्ड गर्न खोजिएको भन्ने बुझ्न सकिन्छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।